सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

टोकियो – जापानमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलले एसइइ परीक्षामा यसवर्ष पनि शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ ।

९ छात्र र १४ छात्रा गरी परीक्षामा सम्मिलित २३ जना विद्यार्थीहरु सबै उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएको प्रिन्सिपल बिष्णुप्रसाद भट्टले जानकारी दिए । उत्तीर्ण हुनेमा १ जना जाम्बियाका छात्र पनि छन् ।

प्रिन्सिपल भट्टका अनुसार परीक्षामा सम्मिलित अधिकाँश विद्यार्थीले ३ दशमलव ८ जिपीएभन्दा माथिको नतिजा हासिल गरेका छन् । एभरेष्ट इन्टरनेशनल स्कुलबाट यसपटक चौथो ब्याचका विद्यार्थीले एसइइ परीक्षा दिएका हुन् । जापानस्थित नेपाली राजदूतावासको प्रत्यक्ष अनुगमनमा एसइइ परीक्षा सम्पन्न गरिएको थियो ।

एभरेष्ट इन्टरनेशनल स्कुल नेपाली पाठ्यक्रमअनुसार पढाई हुने नेपाल बाहिरको एक मात्र उच्च माद्यामिक विद्यालय हो । नेपाल तथा जापान सरकारबाट मान्यता प्राप्त एभरेष्ट इन्टरनेशनल स्कुलमा हाल ४ सय ५० जना विद्यार्थीहरु अध्ययनरनत छन् भने प्रशासनिक कर्मचारीसहित ६२ जना शिक्षक-शिक्षिकाहरु अध्यापनरत छन् । एभरेष्ट स्कुलमा नेपाली, जापानी, भारतीय, फिलिपिनी, अमेरिकन लगायतका नागरिक शिक्षक छन् ।

सन् २०१३ सालमा १३ जना विद्यार्थीबाट सुरु भएको एभरेष्ट इन्टरनेशनल स्कुल हाल ओगिकुबो, आशागाया र शिनओकुबो गरी ३ ठाउँमा सञ्चालित छ ।

ओगिकुबोमा कक्षा ४ देखि १२ सम्म, आशागायामा कक्षा १ देखि ३ सम्म र सो भन्दा तलका किन्डरगार्टेन तहका बालबालिकाहरु शिन-ओकुबो स्थित एभरेष्ट किड्समा पठनपाठन हुँदै आईरहेको छ ।

एभरेष्ट इन्टरनेशनल स्कुलको सञ्चालक समितिको अध्यक्षमा हाल भवन भट्ट रहेका छन् । यसैसाता स्कुलले प्रोमोटरहरुको एघारौं साधारण सभा गर्न गईरहेको छ । साधारण सभाबाट स्कुलको भावी रणनीति, सञ्चालन विधि लगायतका महत्वपूर्ण बिषयहरुमा ठोस निर्णय हुने अपेक्षा गरिएको एभरेष्ट इन्टरनेनल स्कुल प्रशासन स्रोतले जनाएको छ ।***

तपाईको प्रतिक्रिया