सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका प्रमुख सांसद प्रदीप पौडेलले शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा भनेका छन् कि एसइईमा ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको सरकारको असफलता देखिएको हो। उनले भनेका छन्, ‘पास फेल प्रणाली अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास फेल गर्ने प्रणाली सुरू गरियो । केही वर्ष अभ्यास गरे पनि शिक्षाको गुणस्तर कायम गर्न सकेन । यो वर्षदेखि ग्रेडिङ नन् ग्रेडिङ भनेर हामीले बुझ्ने भाषामा पास फेल प्रणाली विकास गरियो । यो प्रणालीमा ५२ प्रतिशत विद्यार्थी ग्रेडिङ भित्र परेनन् । ५२ प्रतिशत विद्यार्थी फेल भए यी विद्यार्थी फेल भएको कि सरकार फेल भएको हो ?’

उनले सरकालाई २ लाख ८२ हजार ३१३ विद्यार्थीलाई अयोग्य घोषण गर्ने सरकारलाई अधिकार नभएको जिकिर गरेका छन्। उनले भनेका छन्, “तिमी अयोग्य हौ, पढेर खान सक्दैनौ, योभन्दा अघि उच्च शिक्षा हासिल गर्ने तिम्रो हैसियत छैन भनेर घोषणा गर्न मिल्छ? अयोग्य घोषणा गर्न सरकारले सक्छ?”

सांसद पौडेलले १० वर्षसम्म एउटा विषय पढाउदा ३५ नम्बर ल्याउन नसक्ने कस्तो शिक्षा प्रणाली विकास गरिएछ भन्ने प्रश्न उठाए। उनले भनेका छन्, “१० वर्ष पढाएर एउटा विषयमा ३५ नम्बर ल्याउन नसक्नेले कसरी गुणस्तरीय हुन्छ? गणित ३८, ३१ प्रतिशत अंग्रेजी र ३० प्रतिशत विज्ञान विषयमा अनुत्तीर्ण छन्। १० वर्ष पढाएर ३५ नम्बर ल्याउन नसक्नेले कसरी गणित हासिल गर्न सक्छ? अयोग्य उत्पादन राज्यले गर्न मिल्छ?”

 

 

तपाईको प्रतिक्रिया