सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सिधा कुरा डटकमका सम्पादक र प्रकाशकसहित तीन व्यक्तिविरुद्ध साइबर अपराध सम्बन्धी आरोपमा मुद्दा दायर गरिएको छ। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका व्यक्ती राजकुमार तिमल्सिनाविरुद्ध अभियोग पत्र पेश गरेको छ। उनीहरू तीनैजनालाई फरार प्रतिवादी बनाउँदै अभियोग लगाइएको छ।

सिधा कुरा डटकमले सर्वोच्च अदालतका न्यायाधीशहरूको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो। उक्त समाचारमा डिलको अडियो समावेश गरिएको थियो। यस घटनालाई लिएर सर्वोच्च अदालतले अदालतको अवहेलना सम्बन्धी रिट दायर गरेको थियो र तीनैजनाको बयान लिएको थियो। अन्ततः, यो मामला बृहत् पूर्ण इजलासमा पठाइएको छ।

सर्वोच्चले उक्त अडियोको छानबिन गर्न प्रहरीलाई आदेश दिएको थियो र त्यसको प्रतिवेदन पेश गर्न भनेको थियो। प्रहरीको अनुसन्धानका आधारमा मुद्दा चलाइएको हो। अनुसन्धानका क्रममा प्रहरीले सूचनादाता भनिएका तिमल्सिना, कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया, एसपी सन्जयसिंह थापा, अन्नपूर्ण पोष्टका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, पत्रकार सुरेन्द्र काफ्ले, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीलगायतसँग सोधपुछ गरेको थियो। तिमल्सिनाले यी व्यक्तिहरू डिलमा संलग्न भएको दाबी गरेका थिए।

तपाईको प्रतिक्रिया