आइतबार, आषाढ १६, २०८१
Sunday, June 30, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरू गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला भएको बताए । ‘अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्यबारे, जनतामा देखापरेको मनोविज्ञानबारे हामी सबैले नै जिम्मेवारी महसुस गर्नुपर्ने हुन्छ । चाहे त्यो २०४६ सालको जनआन्दोलनको कुरा गरौँ, वा जनयुद्ध र जनआन्दोलनको संयोजनपछि हामी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको कुरा गरौँ,’ उनले भने, ‘देशमा केही पनि भएको छैन, भन्ने भाषा गलत हो । धेरै भएको छ । तर जनताको आशा र अपेक्षाअनुसार अझै भएको छैन, त्यो पनि सत्य हो । तर यहाँ एउटा प्रवृत्ति अलि बढी नै नकारात्मक मात्रै कुरा गर्न रमाउने प्रवृत्ति कहीँ न कतै यसलाई अघि बढाउन खोजिएको छ ।’

प्रधानमन्त्री प्रचण्डले क्रान्ति र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जिकिर गरे । ‘हामी कम्युनिष्टहरुको आवश्यकता सबै लोकतान्त्रिक शक्तिहरूको पनि आवश्यकता के हो भने हामी एकताबद्ध भएर त्यो भाष्य चिर्नतिर लाग्नुपर्ने हुन्छ । हामीले जनतालाई आशा र भरोसा जगाउने गरी उपलब्धिहरूको पनि र जनतालाई निराश हुन नदिने गरीकन सीमा र कमजोरीको पनि समीक्षा गर्नुपर्छ । तर यहाँ जनतालाई यहाँ केही छैन, केही भएन भनेर प्रशिक्षित गर्ने, त्यस खालको सन्देश दिन खोजिएको छ, त्यसलाई रोक्नुपर्ने हुन्छ,’ उनले अगाडि भने, ‘हामीले त्यो नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरू गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्छ । हामी एकताको प्रक्रियातिर अघि बढी नै सकेका छौँ । यसलाई सफल पार्न हामी सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया