शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा गए राति आएको पहिरोले घर बगाउँदा हराएका चारै जनाको शव फेला परेको छ। राति आएको पहिरोले रुद्रमान गुरुङको घर बगाएको थियो। घरमा रहेका ६७ वर्षीय रुद्रमान, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र नातिनीहरू आठ वर्षीया इच्छा गुरुङ र चार वर्षीया नम्रता गुरुङ हराएका थिए।

स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले घरको भग्नावशेषमा चारै जनाको शव फेला पारेको हो। पहिरो पन्छाउँदै गर्दा चारै जनाको शव भेटिएको स्थानीय चित्र गुरुङले जानकारी दिए। रुद्रमानकी पत्नी जुना घले भने छोरीको घरमा गएकाले बाँच्न सफल भइन्। गएराति २:३० बजे गएको पहिरोले रुद्रमानसँगै छिमेकी चित्र घले र पञ्चकुमारी गुरुङको पनि घर भत्काएको छ।

लमजुङकै दोर्दी गाउँपालिका-९ मा गए राति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ र १८ वर्षीय मिलन सुनार घाइते भएका छन्। विकलको उपचारका क्रममा मृत्यु भएको र मिलनको उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले बताए। त्यसैगरी, गए राति आएको पहिरोले लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडक पनि अवरुद्ध भएको छ। बेँसीसहर नगरपालिका-६ खरकहरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया