शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

काठमाडौं – देशभर मनसुन सक्रिय हुँदा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । पहिराले गण्डकीमा मानवीय क्षति पुर्‍याएको छ ।

कास्कीमामा मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पहिरोमा परी पोखरा-२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको ५ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।

उता लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका चारजना बेपत्ता भएका छन् । गएराति गएको पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएका हुन् ।

पहिरोले रुद्रमान गुरुङ, उनकी बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका दुई छोरी इच्छा र नम्रता बेपत्ता भएको वडा सदस्य विनप्रसाद घलेले जानकारी दिए  ।अहिले बेपत्ताको खोजी भइरहेको छ । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।

गएरातिकै पहिरोका कारण बेंसीशहर नगरपालिका-११, चिती स्याउतमा दुईजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा लमजुङ लगिएको प्रहरीले जनाएको छ । पहिरोकै कारण बेंसीशहर-मनाङ सडक पनि अवरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया