शनिबार, आषाढ १५, २०८१
Saturday, June 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिएका छन्। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अंकभार प्रविष्टि, र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उहाँले बताए।

पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका छ, तर तालिकाभन्दा छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौं। बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ।’ उनले कर्मचारीहरूको समूह बनाएर काम भइरहेको पनि बताए। ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइसकेको र कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए।

गत वर्ष, कार्यालयले असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो। यस वर्ष भने एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने पौडेलले बताए।यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक नल्याउनेलाई एनजी (नन-ग्रेडेड) उल्लेख गरिनेछ।

गत चैत १५ गतेदेखि सुरु भएको एसईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।

तपाईको प्रतिक्रिया