शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौं – आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आयोजना गरेको ‘औषधिजन्य जडीबुटी मेला’ सम्पन्न भएको छ । जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित मेला सम्पन्न भएको हो ।

मेलामा औषधिजन्य जडीबुटीको व्यावसायिक खेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयास एवम् कृषकबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता र चुनौतीको बारेमा छलफल भएको थियो । सो औपचारिक कार्यक्रममा बोल्ने वक्ताहरूले आयुर्वेदलाई अझ अगाडि बढाउन अनुसन्धानमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

मेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाले नेपालमा आयुर्वेदको प्रचुर सम्भावना गरेको बताए । ‘भौगोलिक हिसाबले र इतिहास हर्दा पनि जडीबुटीको महत्त्व बुझेको देश हो,’ उनले भने, ‘हामी जडीबुटीमा धनी मात्र होइन यसको प्रयोगमा पनि उत्तिकै जानकारी राख्छौं । तथापि यसलाई अनुसन्धानसँग जोडिनु पर्दछ ।’

जडीबुटी प्रयोग पहिल्यैदेखि भएपनि आयुर्वेदको रुपमा आशातीत विस्तार हुन नसकेको उनको भनाई छ । ‘आयुर्वेदको विस्तार सोचेजति हुनसकेको छैन । यसमा मन्त्रालयबाट सहयोग रहन्छ नै,’ सचिव देवकोटाले भने, ‘आगामी वर्ष आयुर्वेद रोजगार विस्तार गरिनेछ ।’

वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्तले भारत र चीनको जस्तै नेपालमा पनि आयुर्वेदको अनुसन्धान आवश्यक रहेको बताए । उनले नेपालको आयुर्वेदलाई अनुसन्धान गर्नसके ठूलो टेवा पुग्ने बताए ।

मेलामा जडीबुटीहरूको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवम् लोपोन्मुख बहुमूल्य जडीबुटीहरूको जानकारी, स्वास्थ्य प्रवर्द्धन तथा उपचारका लागि स्थानीय जडीबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइएको चिकित्सालयकी प्रमुख डा. पुनम नेपालले जानकारी दिइन् । उनले जडीबुटीहरूमा कत्तिको दिगोपन छ त्यसबारे पनि सोच्नुपर्ने बताइन् ।

मेलाबाट औषधिको प्रयोग भएपनि लोपोन्मुख रहेका जडीबुटीको संरक्षण गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ । नेपालमा करिब पाँच हजार ६०० जडीबुटीबाट औषधि उत्पादन हुने गरेका अध्ययनले देखाएको चिकित्सालयका प्रमुख डा. नेपालको भनाई छ ।

तपाईको प्रतिक्रिया