शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध मुद्दा दर्ता गरेको छ । अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा अर्यालको संलग्नता देखिएको भन्दै उनीविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अर्याल सञ्चार मन्त्रालयका सचिव रहँदा भएको उक्त घोटाला प्रकरणमा उनको समेत संलग्नता देखिएको हो ।

अख्तियारले मुख्यसचिव डा. बैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा ३८ करोड भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको हो । विशेष अदालतमा भर्खर पेश गरिएको अभियोगपत्र अनुसार रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मालाई प्रतिवादी बनाइएको छ ।

अहिले विशेष अदालतमा अख्तियारले पेश गरेको आरोपपत्र, मुद्दाको मिसिल र प्रमाण कागजात रुजु गर्ने काम भइरहेको छ । २०७९ असोज ४ गते सेक्युरिटी प्रिन्टिङ सेन्टरले आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेण्डर आह्वान गरेको थियो जसको ठेक्का प्रिन्टसेल प्रालिले पाएको थियो । सोही प्रक्रियामा भएको भ्रष्टाचारमा मुख्यसचिव अर्यालको संलग्नता देखिएको अख्तियारको ठहर छ ।

अर्याल २०८० जेठ ३२ गते मुख्यसचिव नियुक्त भएका थिए । २०८० असार २ मा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउने क्रममा रहेका अर्याललाई सरकारले त्यसको ३ दिनअघि मात्रै मुख्यसचिवमा नियुक्त गरेको थियो । आरोपपत्र दर्ता हुनासाथ मुख्यसचिव डा. अर्याल स्वतः निलम्बनमा पर्नेछन् । बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको नेपालको निजामति इतिहासमा यो सम्भवतः पहिलो घटना हो ।

तपाईको प्रतिक्रिया