शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

टोकियो – नेपाली जनप्रगतिशील मञ्च जापान, च्युबू मिए क्षेत्रीय समितिको आयोजनामा नागोयामा संगठनात्मक सुदृढीकरण एवम् बार्बेक्यू कार्यक्रम सम्पन्न भएको छ । मनोरञ्जनका साथै सांगठनिक सुदृढीकरणसहित सचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्र एसिया प्रदेश सहसंयोजक डा. भूपालमान श्रेष्ठले संगठनले राजनैतिक तथा सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएको बताए । आगामी दिनमा अझै कटिबद्ध र एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिँदै संगठनलाई आ-आफ्नो क्षेत्रबाट अझ सशक्त बनाउन उनका आग्रह छ ।

उनले संगठनका गतिविधि बाहेक जापानमा हुने अन्य गतिविधि, जापान सरकारका परिवर्तन भइरहने नीति नियमसंग पनि जानकार रहनुपर्ने बताएका छन् । सहसंयोजक श्रेष्ठले जापान सरकारले यही जून महिनाबाट लागू गरेको आम्दानी र पारिवारिक संख्याको आधारमा निश्चित रकम कर कटौती (तेईगाकुगेनजेई)को बारेमा जानकारीमूलक विषयवस्तु प्रस्तुत गरेका थिए ।एसिया प्रादेश सदस्य तथा जन प्रगतिशील मञ्च जापानका इन्चार्ज सालिकराम भण्डारीले वैचारिक प्रशिक्षण दिँदै पार्टी संगठनमा अधिवेशनका बेला भएका केही असहमति लाई सधैँ बोकेर हिँडियो भने संगठन बलियो नहुने बताएका थिए । संगठनले सुम्पेको जिम्मेवारी पूरा गर्न सबै लाग्नु पर्नेमा उनको जोड छ ।

नेकपा माओवादी केन्द्र एसिया प्रदेश महिला संयोजक कालिका थापाले आधा आकाश ढाक्ने महिलाहरूलाई राजनीतिक र सामाजिक क्षेत्रमा सहभागिता बढाउने कुरामा जोड दिए । नेपाली जन प्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेलले संगठनलाई र प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध बनाएर लगिने र जापानमा रहेका विशेष गरि विद्यार्थी, डिपेण्डेन्ट, कुक लगायतका समस्या समाधान गर्न हेल्पडेस्क बनाएर अगाडि बढिरहेको र सहयोग गरिरहेको बताए ।कार्यक्रममा संगठनका अनुशासन विभागका संयोजक अर्जुन ढकाल, कन्साई क्षेत्रीय समिति इन्चार्ज प्रकाश गैरे, कान्तो क्षेत्रीय समितिका अध्यक्ष सुनील देवकोटा, च्युबु मिए क्षेत्रीय समितिका अध्यक्ष रञ्जित गौतमले मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता च्युबु मिए क्षेत्रीय समितिका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक किरण तिवारीले गरेका थिए । सहसचिव रञ्जित रानाले सञ्चालन गरेको कार्यक्रममा अर्का उपाध्यक्ष मनोज अधिकारीले स्वागत मन्तव्य राखेका हुन् ।

कार्यक्रम बार्बेक्यू का साथै मनोरञ्जनात्मक, जानकारीमूलक तथा सांगठनिक रूपमा निकै उपलब्धिमूलक, भव्य र सभ्य रूपमा सम्पन्न भएको क्षेत्रीय अध्यक्ष रञ्जित गौतमले बताए । कार्यक्रममा टोकियो, ओशाकाबाट पनि उपस्थिति रहेको मञ्चका क्षेत्रीय इन्चार्ज हरीदोङ तामाङले जानकारी दिए । कार्यक्रम नोमिया स्थित ओनो पार्कमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया