शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौं – नाबालिगलाई वेश्यावृत्तिमा लगाउने स्पा सञ्चालक पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका-८ घर भई टोखा बस्ने ४१ वर्षीय रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका-९ घर भई सातदोबाटो बस्ने ३३ वर्षीया मखमली माया स्याङतान पक्राउ परेका हुन् ।

उनीहरूले काठमाडौंको ठमेलमा सञ्चालन गरेको ए वान स्पा सेन्टरमा नाबालिगहरूलाई विभिन्न किसिमको डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने प्रहरीले जनाएको छ ।

उनीहरूले ग्रामीण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका नाबालिगहरुलाई टिकटकबाट कुराकानी गरी राम्रो आम्दानी हुने ब्यूटीपार्लरमा काममा लगाइदिने प्रलोभन देखाई काठमाडौं आउने भाडा समेत पठाएर ल्याएको खुलेको छ ।

पक्राउ परेका दुवैजनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

तपाईको प्रतिक्रिया