बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर गरिएको रिटमा आज सुनुवाइ स्थगित भएको छ। उक्त रिट अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा दायर गरेका थिए, जसको सुनुवाइ न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा तोकिएको थियो। तर, न्यायाधीश मनोजकुमार शर्माले यसअघि आदेश दिएको हुँदा आज हेर्न नमिलेको हो ।

यसअघि जेठ २८ गते न्यायाधीशद्धय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै रूपन्देही जिल्ला अदालतमा दायर भएको अभियोग पत्र माग्ने आदेश गरेको थियो। न्यायाधीशद्धय शर्मा र श्रेष्ठको इजलासले जितेन्द्रबाबु राई लगायतको सहकारी ठगी विवाद सम्बन्धी मिसिल झिकाएर, पूर्व आदेशअनुसार अग्राधिकार दिने समेत उल्लेख गरेको थियो।

अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै रिट दायर गरेका थिए। साथै, रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न पनि माग गरिएको छ।महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको यस रिटमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव पार्ने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न माग गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया