बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा जुटेका छन्। यस पुनर्गठनमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउने योजना रहेको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार, राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता भएपछि मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना छ। राष्ट्रपति पौडेल हाल स्विट्जरल्यान्डको जेनेभामा ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएका छन्। त्यहाँबाट जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा बर्लिन पुगेका राष्ट्रपति पौडेल बुधबार नेपाल फर्कनेछन्।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर छलफल भइरहेको छ। तर, एमालेले आफ्ना मन्त्री फिर्ता लिने निर्णय नगरेका कारण मन्त्रिपरिषद् पुनर्गठनमा केही ढिलाइ हुन सक्ने देखिन्छ। सूत्रका अनुसार, प्रधानमन्त्रीले माओवादी र एमालेका एक-एक मन्त्री हटाएर जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठलाई मन्त्रिमण्डलमा समावेश गर्ने योजना बनाएका छन्।

माओवादीबाट परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउने सम्भावना प्रवल रहेको स्रोतले बताएको छ। एमालेले भने आफ्ना मन्त्री फिर्ता लिनेबारे अझै निर्णय गरेको छैन।

 

 

तपाईको प्रतिक्रिया