बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – नेपाल पेट्रोलियम ट्यांकर चालक संघ आन्दोलन फिर्ता लिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपाल आयल निगमसँग भएको छलफलपछि संघले आन्दोलन फिर्ता लिने भएको हो ।

वाणिज्य तथा आपूर्ति सचिव दिनेशकुमार घिमिरेको संयोजनमा भएको छलफलमा संघले उठाएका मागहरू सम्बोधन गर्न समिति गठन गर्नेलगायतका सहमति भएको छ । उक्त समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यादेश दिइने भएको छ ।

निगमको नायब कार्यकारी निर्देशकको संयोजनमा बन्ने समितिले बुझाएको प्रतिवेदनका आधारमा निगमले समस्या समाधान गर्ने सहमति भएको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिए । उनले भने, ‘वार्ता सकारात्मक भयो । उहाँहरूले आजैदेखि आन्दोलन फिर्ता लिएर इन्धन ढुवानी गर्नुहुन्छ ।’

यद्यपि सहमतिको ड्राफ्ट भने तयार भइरहेको वार्तामा रहेका नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघले जनाएको छ । चालक, सहचालकले श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थापनलगायत ७ बुँदे माग राखेर आइतबारदेखि थानकोट डिपोबाट इन्धन उठाउन रोकेका थिए ।

तपाईको प्रतिक्रिया