बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – लेग स्पीनर सन्दीप लामिछानेले टी-२०आई क्रिकेटमा एक सय विकेट पुर्‍याएका छन् । टी२० विश्वकपअन्तर्गत सोमवार बिहानको बाङ्ग्लादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै उनको नाममा उक्त कीर्तिमान बनेको हो ।

यसअघि ९८ विकेट लिइसकेका लामिछानेले पहिलो विकेट १३.२ ओभरमा तन्जिम हसन सकिवलाई बोल्ड गर्दै लिए । उनले दोस्रो विकेटका रूपमा १५.३ ओभरमा जाकिर अलीलाई ‘आउट’ गर्दै बनाएका थिए । सन्दीपको गुगलीलाई जाकिरले रोक्न सकेनन् ।

उनले ५४ वटा टी-२० आई खेलेर सय विकेट लिएका हुन् । योसँगै उनी टी-२०आईमा सबैभन्दा छिटो १०० विकेट लिने विश्वका खेलाडीहरूमध्ये दोस्रो स्थानमा रहन सफल भएका छन् ।

जारी विश्वकप अन्तर्गत भिसा नपाएका कारण लामिछानेले अमेरिकामा भएको द नेदरल्यान्ड्स र श्रीलङ्काविरुद्धका दुई खेल खेल्न पाएका थिएनन् । यद्यपि श्रीलङ्कासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा दुई विकेट लिन सकेको भए उनको नाममा अर्को कीर्तिमान पनि हुने थियो । अफगानिस्तानका रासिद खानले ५३ खेलमा १०० विकेट लिँदै टी-२०आईमा सबैभन्दा कम खेल खेलेर १०० विकेट लिने कीर्तिमान रचेका थिए । लामिछानेले त्यो कीर्तिमान बराबरी गर्ने मौका भने गुमाए ।

यद्यपि उनको नाममा टी२० मा दुई कीर्तिमान कायम छन् । उनले २९ खेल खेलेर ५० विकेट लिएका थिए । त्यो टी२० क्रिकेटको छैटौँ छरितो विकेट हो । त्यस्तै टी२०आईमा उनले १७ विकेट एलबीडब्लूबाट प्राप्त गरेका थिए । त्यो कीर्तिमानको सूचीमा चौथो नम्बरमा छ ।

लामिछानेले एकदिवसीय क्रिकेटमा भने गत वर्ष एक सय विकेट लिँदै कीर्तिमान रचिसकेका छन् । सन् २०२३ अप्रिल २१ तारिखका दिन काठमान्डूमा भएको एसीसी प्रिमिअर कपअन्तर्गत ओमानविरुद्धको खेलमा उनले सो कीर्तिमान बनाएका थिए । बयालीस खेलबाटै १०० विकेट पूरा गरेका लामिछाने नेपालबाट उक्त कीर्तिमान बनाउने एक्लो खेलाडी पनि हुन् ।

तपाईको प्रतिक्रिया