शनिबार, आषाढ ०८, २०८१
Saturday, June 22, 2024

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिष्ट पार्टीहरूको उदय श्रमिककै बलमा आएको भए पनि नेतृत्व तहमा पुगेका नेताहरूले श्रम गर्न छोडेको टिप्पणी गरेका छन् ।

शनिबार ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै महासचिव चन्दले नेतृत्व तहमा पुगेपछि श्रम गर्न छोडेर नेताहरू चन्दाकै पछि दौडेको आरोप लगाए । उनले भने, ‘कम्युनिष्ट पार्टीको उदय अथवा समाजवाद श्रमिककै बलमा आयो । तर मालिक भएपछि नेतृत्वले श्रमिक बन्न छोडेको देख्यौँ । मालिक मात्र बन्ने चेतनाले शोषण मात्रै गर्‍यो । कम्युनिष्ट पार्टीमा नेता बन्दै गएपछि श्रम नगर्ने देखिँदै आएको छ । मास्टर डिग्री गरेको छ तर, १० हजार रुपैयाँका लागि चन्दा माग्दै धाउने गरेका छन् । यो एउटा परम्परा बन्दै गएको देखिएको छ ।’

कम्युनिष्ट नेताहरूमा आफ्नो क्षमता प्रदर्शन गरेर अर्थ निर्माणमा ध्यान नदिने प्रवृत्ति हाबी हुँदै गएको उनको भनाइ छ । कम्युनिष्ट पार्टीलाई श्रमिकहरूको पार्टीमा बदल्नु पर्छ भनेर अभियान चलाएर आफू अघि बढेको चन्दले उल्लेख गरे । ‘कम्युनिष्ट पार्टीलाई श्रमिकहरूको पार्टी बनाउनु पर्दछ । जसले जे–जति योग्यता हासिल गरेको भए पनि आ–आफ्नो ठाउँमा श्रम गर्नु आवश्यक छ । श्रम नगर्ने हो भने त्यसले परनिर्भता ल्याउँदो रैछ भन्ने अनुभूति भएको छ । विज्ञ भए पनि आफ्नो क्षेत्रमा गरे पनि सबैले श्रम गर्ने कुरा संगठनमा लागु गर्नु पर्दछ’ उनले भने ।

महासचिव विप्लवले अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताएका छन् । महासचिव चन्दले आर्थिक दृष्टिकोण र आर्थिक निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटको सरकारमा सहभागी दलका प्रभावशाली नेताहरूले नै आलोचना गरिहरेका भन्दै नागरिकले बजेटबाट के आशा राख्ने भन्दै प्रश्न गरे

तपाईको प्रतिक्रिया