मंगलबार, आषाढ ०४, २०८१
Tuesday, June 18, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाको सक्रियतामा नन्दीकेशर बगैँचापरिसरमा रहेको नक्साल ढुंगेधारा (गाःहिटी)को पानीको निकास खुला गरिएको छ । पानीको निकास थुन्ने तीनवटा घरलाई जनही दुई लाख जरिवाना गर्दै उक्त जरिवानाबापतको रकमबाट निकास खुला गरिएको हो ।

अवरुद्ध निकास समस्या पहिचान गर्ने क्रम ०८० असोजबाट सुरु भएको थियो । यस विषयमा महानगरका मेयर बालेन्द्र साहले हिटी (हिति) आसपासका स्थानीयसँग छलफलसमेत गरेका थिए । हिटीको निकास खुलेसँगै प्राचीन स्मारक जोगाउन निकै ठूलो काम भएको वडाध्यक्ष भरतलाल श्रेष्ठले बताए । यसबाट ढुंगेधारा संरचनासँगै जल सम्पदाको पुनरुत्थान हुनेमा उनको विश्वास छ ।

हिति संस्कृतिका बाधा पहिचान गर्ने क्रममा स्थानीयसँगको छलफल, स्थलगत र अभिलेख अध्ययनबाट पानीको निकास तीनवटा घरले थुनेको पत्ता लागेको थियो । ‘स्थानीयको सूचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटियो । उनीहरू हरेकलाई दुई लाख रुपैयाँका दरले जरिवाना तिराएर जरिवानाबाट प्राप्त रकमबाट निकास खोलिसकिएको छ,’ मेयरका सचिवालय सदस्य विनय शाक्यले भने, ‘निकास खोलियो, अबको काम मुहान खोज्ने र भौतिक पूर्वाधार पुनरुत्थानको काम गर्ने हो ।’

धाराको निकास रोकिएको विषय पुरातत्व विभागले ०३९ सालमा अभिलेखन गर्दाको दस्तावेज ‘काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरूको विवरण’मा उल्लेख गरिएको छ । विवरणले ४० वर्षअघिदेखि पानीको निकास बन्द भएको देखाउँछ । वडा नम्बर १ का सचिव सर्वज्ञराज पौडेलले भने, ‘विगतमा यहाँ पानी जमेर पोखरीजस्तो र फोहोर जम्मा हुने ठाउँ थियो ।’

तपाईको प्रतिक्रिया