Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024

काठमाडौं – नेपाली नागरिकता त्याग गर्नेको संख्या ह्वात्तै बढेको छ । गृह मन्त्रालयकाअनुसार पछिल्लो १० महिनामा मात्रै १,२२५ जनाले नेपाली नागरिकता त्याग गरेका हुन् ।

गत साउनमा सुरु भएको यो आर्थिक वर्षको १० महिनामा देशभरिका जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकता त्याग गर्नेहरूको सङ्ख्या अघिल्लो वर्षको भन्दा पाँच गुणाले बढी छ । जबकी अघिल्लो आर्थिक वर्षको यही अवधिका नेपाली नागरिकता त्याग गर्नेको संऋया २३७ जना मात्र थियो ।

पछिल्लो समय अन्य देशहरूमा बसाइ सराइका साथै वैदेशिक रोजगारी र अध्ययनका लागि गएर स्थायी बसोबास गर्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएको छ । अध्यागमन कार्यालयका अनुसार सन् २०२३ मा झन्डै ७१ हजार नेपालीहरूले स्थायी बसोबासको अनुमति पत्र (पीआर) लिएर नेपालबाट विदेश गएका थिए । नेपालीहरू पीआर लिएर १०९ वटा देशमा पुगेका एउटा सरकारी आँकडाले देखाएको छ ।

नेपालीहरू विकसित भनिएका अमेरिका, ब्रिटेन, स्विट्जरल्याण्डदेखि राजनीतिकरूपमा अस्थिर अफ्रिकाका इथिओपियासम्मका विभिन्न देश सन् २०२३ मा पुगेका हुन् । स्थायी बसोबासको अनुमतिपत्र लिएर नेपालबाट बाहिरिने अधिकांश नेपालीहरू अमेरिका, युरोप र एसियाका आकर्षक भनिएका गन्तव्यहरूमा गएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ । स्थायी बसोबासको अनुमतिपत्र लिएर विभिन्न १०९ देशका लागि सन् २०२३ मा ३६ हजार ६७२ पुरुष, ३४ हजार २६७ महिला र १ जना अन्य लैंगिक पहिचान भएका व्यक्ति बाहिरिएको देखिन्छ ।

त्यसमध्ये झन्डै २१ हजार संयुक्त राज्य अमेरिका गएको तथ्यांकले देखाउँछ । त्यसपछि संयुक्त अधिराज्य (यूके) र नर्दर्न आयरल्याण्डमा गरी १६ हजार २ सय भन्दा बढी अनि हङकङमा ११ हजार बढी नेपाली पीआर लिएर यात्रा गरेका छन् । सूचीको चौथो स्थानमा नेपाली विद्यार्थीहरूको बढ्दो चाप रहेको अस्ट्रेलिया छ जहाँ ८ हजारभन्दा बढी पीआरवाहक गएका छन् ।

२६ सयभन्दा बढी नेपाली पीआर वाहक सन् २०२३ मा जापान गएका छन् । क्यानडा, पोर्चुगल, जर्मनी, न्यूजील्याण्ड र यूएई पीआर बोकेर नेपालीहरूले यात्रा गर्ने प्रमुख १० देशमा पर्ने सो आँकडाले देखाउँछ । झन्डै ३०० नेपालीहरू सन् २०२३ मा स्थायी अनुमतिपत्र वाहकको हैसियतमा भारत पुगेको छन् । केही सय र दर्जनको संख्यामा नेपालीहरू ठूलो संख्यामा नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका कतारदेखि साउदी अरेबियासम्मका देशमा स्थायी बसोबासको अनुमतिपत्रसहित ती देशमा गएका हुन् ।

चीनमा १०६ जना, ताइवानमा ३६ जना र मकाओमा २० जना नेपालीहरू पीआरसहित त्यहाँ सन् २०२३ मा पुगेका थिए । स्थायी बसोबासको अनुमतिपत्रसहित बाहिरिने नेपालीको वार्षिक संख्या सन् २०२३मा पहिलो पटक सार्वजनिक गरिएको हो ।देश छाड्नको कारण
नेपालमा श्रम र आप्रवासनको अध्ययन गर्दै आएका जीवन बानियाँ नेपालबाट बर्सेनि ठूलो सङ्ख्यामा मानिसहरू बाहिरिने क्रम तत्काल रोकिने सम्भावना नदेखिएको बताउँछन् । ‘जुन तरिकाले हाम्रो बजेट बनिरहेको छ। आर्थिक वृद्धि नै ४ अङ्क हाराहारीको मात्रै छ,’ सोसल साइन्स बहाको सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटीका उपनिर्देशकसमेत रहेका बानियाँ भन्छन्, ‘ऋण र अनुदानमा हाम्रा परियोजना निर्भर छन् त्यस कारण केही समय लाग्छ एक दशकमा पनि गाह्रै होला जस्तो लाग्छ ।’

नेपालले वार्षिक एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राख्ने गरेको भए पनि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको एक अध्ययनले वार्षिक पाँच लाख युवाहरू श्रम बजारमा आउने गरेको देखाएको छ । ‘हामीसँग जति युवाहरू श्रम बजारमा छन् त्यति रोजगारी हाम्रो श्रम बजारमा नहुनु नै प्रमुख कारण हो,’ उनले भने, ‘कतिपय ठाउँमा तलब कम हुँदा पनि सामाजिक सुरक्षा राम्रो हुँदा मानिसहरू बिदेसिने क्रम अलि कम हुन्छ । तर हाम्रोमा त्यसको पनि अभाव छ ।’

नेपाली समाजले विदेशमा जाने कुरालाई पछिल्लो समय सामाजिक प्रतिष्ठाको विषय पनि बनाएको छ । ‘पछिल्लो समय युरोप, अमेरिका र अस्ट्रेलिया जाने विषय सामाजिक प्रतिष्ठाको विषय बनेर आयो त्यसलाई परिवारले पनि प्रतिष्ठा ठान्ने अवस्था भयो,’ उनी भन्छन्, ‘हामीले गरेको अध्ययनहरूमा छिमेकबाट पनि गएको छ, साथी पनि गएको छ त्यसकारण म पनि जानुपर्छ भनेर पनि मानिसहरू विदेश गइरहेको देखिन्छ ।’ बीबीसीको सहयोगमा

तपाईको प्रतिक्रिया