मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

काठमाडौं – आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले ट्राफिक प्रहरीहरूका लागि ‘प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण कार्यक्रम’ सम्पन्न गरेको छ । वायु प्रदूषणका कारण उत्पन्न हुने स्वास्थ्य समस्याहरूलाई रोकथाम तथा न्यूनीकरण गरी ट्राफिक प्रहरीहरूको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले कार्यक्रम गरेको हो ।उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथसँगको समन्वय र सहकार्यमा अधिकतम वायु प्रदूषण हुने स्थानमा खटिने ट्राफिक प्रहरीहरूका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा ३ दिनसम्म गरिएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।कार्यक्रममा वायु प्रदूषणको कारण, वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरहरू, बच्ने उपायहरू, असर कम गर्न आयुर्वेदको भूमिका र दैनिक रुपमा अपनाउन सकिने विधिहरू जस्तै नस्य (नाकमा औषधि हाल्ने विधि), नेति (नुन र पानीको माध्यमले नाकमा गरिने उपचार विधि), प्राणायाम तथा आसनका बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू सञ्चालन गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जनाएको छ ।आयुर्वेद तथा योगका बारेमा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवाहरूको बारेमा समेत कक्षाहरू सञ्चालन गरिएको थियो । सहभागीहरूलाई वायु प्रदूषणबाट बच्ने उपायहरूको सन्देश सहित नेतिपाट (नाको उपचार विधिमा प्रयोग हुने उपकरण)समेत वितरण गरिएको छ ।सहभागीहरूको सामान्य शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण गरी रक्तचाप मापन, उचाइ र तौल मापन तथा फोक्सोको क्षमता समेत मापन गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको भनाई छ । सहभागीहरूलाई दैनिक योग अभ्यास तथा सिकाइएका उपचार विधि पालनाका लागि प्रोत्साहन गर्न तथा आफ्नो स्वास्थ्यको मूल्याङ्कन आफै गर्नका लागि ‘लग बुक’ बनाएर प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया