मंगलबार, आषाढ ०४, २०८१
Tuesday, June 18, 2024

  टोकियो – भूकम्प गईरहने देशको चिनारी पाएको जापानको राजधानी टोकियो आसपासलाई केन्दबिन्दु पारेर निकट भविष्यमा ठूलो भूकम्प जाने भूकम्पविदहरुको प्रक्षेपण छ । प्राकृतिक प्रकोपलाई रोक्न नसकिएता पनि त्यसबाट हुने क्षतिलाई कम गर्न भने अवश्य सकिन्छ । तर त्यसका लागि पूर्व तैयारी र उच्च सतर्कता भने अवश्य जरुरी हुन्छ ।

त्यसैका लागि वर्षोनि ठूलो बजेट खर्च गरेर जापान सरकारले मातहतका विभिन्न निकायहरु मार्फत त्यस सम्बन्धि सचेतनामुलक अभिमुखीकरण कार्यक्रम गर्दै आईरहेको छ । यसै सन्दर्भमा टोकियो महानगरीय सरकारले यहाँ रहेका विदेशीहरुलाई लक्षित गरी प्राकृतिक प्रकोपजन्य घटनाबाट कसरी बच्न सकिन्छ र यसबाट हुने क्षतीलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने उद्देश्यले Disaster Experience Event  का रुपमा एक सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम आगामी जून २३ तारिख आईतबारका दिन हुने बताईएको छ । नेपाली र भियतनामी भाषाका सहकजकर्ताको सुबिधा समेत रहेको सो कार्यक्रम बिहानी सत्र र अपरान्ह सत्र गरी दुई सत्रमा बिभाजन गरिएको छ । बिहानीको सत्र १०:५५ बजेदेखि १२:१५ बजेसम्म हुने छ भने अपरान्हको सत्र १४:४५ देखि १६:०५ बजेसम्म हुने बताईएको छ । बिहानीको सत्रका लागि रिसेप्शन १०:३० बजेबाट खुल्ला हुने छ भने अपरान्हको सत्रका लागि १४:२० बजेबाट खुल्ला हुने जनाईएको छ ।

होन्जो बोसाइखान (4-6-6 Yokogawa, Sumida-Ku, Tokyo 130-0003 ) मा हुन गईरहेको उक्त कार्यक्रमममा भाग लिनका लागि आगामी जून १६ तारिख आईतबारसम्ममा अनिवार्य आफ्नो नाम दर्ता गराउनुपर्ने छ ।

विज्ञहरुका अनुसार टोकियो आसपासका क्षेत्रलाई केन्द्रबिन्दु बनाई निकट भविष्यमै ठूलो भूकम्प जाने प्रक्षेपण गरिएको छ, त्यसप्रकारका प्रकोपबाट आफू पनि बच्न र अरुलाई पनि बचाउँदै जतिसक्दो क्षती कम गर्ने बारे ब्यवहारिकरुपमै सिकाउने उद्देश्यले विदेशीहरुलाई लक्षित गरी आयोजित उक्त निःशुल्क कार्यक्रममा सहभागी भई मौकाको फाइदा उठाउन अपिल गरिएको छ ।

कार्यक्रममा भूकम्पको धक्काको महशुस गराईनुका साथै, भूकम्पपश्चात हुने संभावित आगलागीबाट बच्न, बचाउन, आगो निभाउन वा धुँवाको मुस्लो छल्दै भाग्न सिकाइने छ । यसैगरी भूकम्पपश्चात संभावित सुनामी वा बाढिबाट ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भाग्न पनि सिकाईने छ ।

एक सत्रमा जम्मा २० जना सहभागिले भाग लिन सकिने सो कार्यक्रममा सहभागीहरुलाई आयोजक महानगरपालिकाले उपहार पनि दिने बताईएको छ । सहभागीहरुको संख्या क्षमताभन्दा बढि भएमा गोलाप्रथाबाट सहभागिको छनौट गरिने बताईएको छ । टोकियो महानगरिय क्षेत्रमा ५ लाख ८० हजार विदेशीहरु रहेको र उनीहरुप्रति लक्षित यसप्रकारका सचेतनामुलक कार्यक्रम नियमित गरिने योजना रहेको आयोजकको भनाई छ ।
उक्त कार्यक्रममा भाग लिन चाहने ईच्छुकहरुले तलको क्युआर कोड स्क्यान गरी आफ्नो नाम दर्ता गर्नुहोला ।

 

तपाईको प्रतिक्रिया