शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं । बुधबारबाट दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडिओ भाइरल छ ।

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडिओलाई ‘नेपालबाट कतार पठाउन लागिएको हात्ती’ भन्दै सेयर गरिरहेका छन् । तर कतारलाई उपहार दिने भनिएका हात्ती (खगेन्द्रप्रसाद र रुद्रकली) चितवनमै रहेका हुन् ।

अहिले भाइरल बनिरहेको भिडिओमा भावुक बनेका नेपालीहरूले भावुक कमेन्ट गर्दै सरकारको विरोध पनि गरेका छन् । उक्त भिडिओ  मार्च २८ अर्थात् गत चैत १५ गते थाइल्यान्डको एक फेसबुक पेजले पहिलोपटक हालेको देखिन्छ । भिडिओमा देखाइएका ती तालिमप्राप्त हात्तीलाई ट्रकमा अन्य स्थानमा लगेको देखिन्छ ।

कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्तीलाई कतै पठाइएकै छैन । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो । प्राविधिक र प्रशासनिक विषय मिलाउनुपर्ने भएकाले नेपालका हात्ती कतार पठाउन समय लाग्नेछ ।

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि ९साइटिस० अनुसार त्यसको ओसारपसारका लागि सम्झौता र साइटिस अनुमति चाहिन्छ । तर हात्ती लेनदेन गर्नका लागि साइटिस अनुमतिपत्र आइसकेको छैन । अन्तर्राष्ट्रिय सन्धि सम्झौताका प्रक्रिया पूरा नभएकाले कतारका राजासँगै नेपालबाट हात्तीहरू नपठाएको अधिकारीहरूको भनाई छ ।

खगेन्द्रप्रसाद र रुद्रकली निकुञ्जभित्रनै रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । खगेन्द्रप्रसाद भाले हात्ती हो भने रुद्रकली पोथी । २०७६ असोज ८ गते कोशीकलीबाट खगेन्द्रप्रसाद र २०७५ असोज २३ गते आमा पूजाकलीबाट रुद्रकलीको जन्म भएको थियो । खगेन्द्रप्रसाद र रुद्रकलीको बाबु भने रोनाल्डो नामबाट चर्चित जंगली हात्ती हो ।

भाइरल भइरहेको भिडिओ :-

तपाईको प्रतिक्रिया