शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक राखिएको हो ।

विश्वासको मत लिनुअघि उनले सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाएका थिए । सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ ।

एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ । मन्त्रालय भागबन्डा टुंगिए पनि मन्त्री भने टुंगिसकेको छैन ।

बुधबार माओवादी केन्द्रले रणसिंह परियारलाई सरकारमा पठाएको थियो । उनलाई मुख्यमन्त्री कँडेलले विना विभागीय मन्त्री बनाएका थिए । बुधबार नै उनले सपथ लिइसकेका छन् । चैत २७ गते मुख्यमन्त्री बनेका कँडेलेले मन्त्रालयको भागबन्डा टुंगो लागेपछि मंगलबार नै विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए ।

४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन् । नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सांसदको समर्थन आवश्यक रहन्छ ।

तपाईको प्रतिक्रिया