शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी १८औँ लोकतन्त्र दिवस मनाइँदै छ। २०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनः स्थापना गरेका थिए। सोही दिनको सम्झनामा नेपालमा वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिएको छ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले पटक-पटक शासन सत्ता हातमा लिएपछि तत्कालीन सात दल र माओवादीले १२ बुँदे सम्झौता गरेसँगै आन्दोलन चर्किएको थियो । विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए।

चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए। आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे। यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ। यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो । विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो।

बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ। यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्यको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो।

संविधानसभा मार्फत संविधान निर्माण र त्यसपछि सङ्घीय व्यवस्थामा देश गएको छ। तीन तहको सरकार बनेका छन्। गाउँगाउँमा अधिकार पुगेका छन्। संविधानअनुसार नै २०७४ मा तीनै तहको निर्वाचन भइ संघीयता कार्यान्वयन भएको छ।

तपाईको प्रतिक्रिया