शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ दलका गलत कामका कारण देशको अवस्था संकटतर्फ धकेलिएको बताएका छन् । सहकारीको रकम अपचलन, ठूला–ठूला भ्रष्टाचार, दोहोरो नागरिकता भएकाहरूको सरकारका हालिमुहाली रहेको आरोप लगाउँदै उनले यस्तो नेतृत्वबाट देश बन्न नसक्ने दाबी गरे ।

नेकपाको ७६ औँ स्थापना दिवसको अवसरका नेकपा मसाल रूपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कटाक्ष गर्दै केसीले सहकारी ठग, ठूलाठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसकेको बताए । सत्तामा गएकाहरूले साम्राज्यवादीको एजेण्डा बोकेर देशलाई कमाउ धन्दा बनाएको पनि उनले आरोप लगाए ।

आधारभूत रुपमा कम्युनिस्टको सिद्वान्त र आचारणमा रहेकाहरूसँग एकताका लागि सधँ ढोका खुल्ला रहेको उनको भनाइ थियो । कम्युनिस्ट आन्दोलन अवसरवादको दलदलमा पतन भएको उल्लेख गर्दै उनले देशमा कम्युनिस्ट जनमत धेरै भएपनि क्रान्तिकारी धार नभएकाहरूको भीड रहेको बताए ।

राष्ट्रिय जनमोर्चाका सल्लाहाकार बद्रे आलमले नेकपा स्थापनाको उद्देश्य पूरा नभएको बताउँदै कम्युनिस्टको नाममा गैरकम्युनिस्ट गतिविधि गर्नेहरूबाट कम्युनिस्ट आन्दोलन कमजोर बनेको बताए ।

 

तपाईको प्रतिक्रिया