शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो । देवकोटाले बच्चालाई जन्म दिएको करिब डेढ घण्टा पछि मृत्यु भएको हो । मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतबार बिहान ११ बजे मात्रै स्वास्थ्यचौकी पुर्‍याउँदा समस्या उत्पन्न भएको स्वास्थ्यचौकीका इन्चार्ज टिका बोहराले बताए ।

इन्चार्ज बोहराका अनुसार, आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी ब्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकीमा ल्याउँदा समस्या भएको हो । रोडिकोट स्वास्थ्यचौकीमा कार्यरत अनमी लगायत सबै स्वास्थ्यकर्मी लागि परेर रातिको १०ः३० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको मृत्यु भएको उनले बताए । उनले भने, ‘बच्चा जन्माउनु अगाडि रगत बग्ने समस्या थियो । बच्चा जन्माएपछि रगत बग्न रोकिए पनि त्यसको केही समयपछि मृत्यु भयो ।’

मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उनको भनाइ छ । गाउँपालिका स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा फोन नउठेको उनको भनाइ छ । यता जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएको उनले बताए । तर दुर्भाग्यबस आमाको मृत्यु भयो । यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा घरपरिवारले कुनै चासो नराखेको उनको भनाइ छ ।

देवकोटाले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी थिइन् । दुर्गम हुम्लाका अधिकांश महिलाले कहिले उद्धार त कहिले उपकरणका साथै विज्ञ स्वास्थ्यकर्मीबाट सेवा नपाउँदा अकालमै ज्यान गुमाउनु परेको छ ।

 

तपाईको प्रतिक्रिया