शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – प्रभु साह नेतृत्वको आम जनता पार्टीले यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा पहिचानवादीहरूको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई सहयोग गर्ने भएको छ। थेगिमले निर्वाचनमा सहयोग गर्नको लागि गरेको पत्राचारपछि आफूहरूले साथ, सहयोग र समर्थन गर्ने निर्णय गरेको आजपाका प्रवक्ता चन्द्र भूषण साहले जानकारी दिए ।

साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘आसन्न उपनिर्वाचनमा इलाम-२ बाट मुढा चुनाव चिन्ह लिई पहिचानवादीहरूको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले यही मिति २०८१ वैशाख ८ गतेको पत्रमार्फत हाम्रो गौरवशाली पार्टी आम जनता पार्टीबाट चुनावमा सहयोग र समर्थन माग गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

आजपाले अहिलेको उपनिर्वाचनको परिणामले संसदीय अंगगणितमा खासै फरक नपारे पनि राजनीतिक मुद्दाहरूको बहस र संघर्षमा विशेष प्रभाव राख्ने विश्वास व्यक्त गरेको छ । साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘अहिले इलाम-२मा संघीयता नचिन्ने र संघीयता चिनेकोजस्तो ढोंग/नाटक गरेपछि पहिचानलाई स्वीकार नगर्ने तथा सार्थक संघीयतावादीबीचको लडाई छ । अहिलेको लुटकारी दलतन्त्र र दलभित्र केही मुठ्ठीभर भ्रष्ट, बेइमान एवम् धोकेबाज नेताहरूको अपराधले गर्दा नै देश अहिले संकटग्रसत अवस्थाबाट गुज्रिरहेको छ । यस सन्दर्भमा यसबाट ठोस एवम् दीर्घकालीन निकासका लागि आम नागरिकको सर्वोच्चता (जनताको शासन) स्थापित गर्न गराउन महत्त्वपूर्ण भूमिका एवम् योगदान गर्नसक्ने कुशल, कर्तव्यनिष्ठ, इमानदार एवम् प्रतिबद्ध नेतृत्वको चयन जरुरी छ ।’

तपाईको प्रतिक्रिया