बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

भक्तपुर । मृत्यु अप्रिय शब्द हो । यो शब्द सुन्नै नपरोस्, शत्रुको पनि मृत्युको खबर सुन् नपरोस् भनिरहँदा सृष्टिको चक्र खलबलिन्छ होला सायद ।

२०८१ सालको पहिलो दिन वैशाख १ गते भगवान भेट्न हिँडेको म लगायतका ११ जनालाई नजिकैबाट मृत्युले चट्कन हानेर पठाइदियो । चोट त थोर बहुत दियो नै हामीहरू सबैलाई तर जीवन भने दान दिएर नै पठाइदियो । उपहारमा मिल्यो फेरि पनि यो सिंगो जीवन । खुसी पलभरमै मिल्ने रहेछ फेरि पलभरमै रित्तिने पनि त रहेछ कसलाई के थाहा ? जीवन पलपलको डायरी न रहेछ कोही लेख्छन् कोही लेख्दैनन् बस् यत्ति न हो ।

वैशाख १ गते बिहान सबेरै उठी स्नान गरी मजुवा, रामेछाप, खाँडादेवी मन्दिरको दर्शन गर्न हिँडेको म अनि हाम्रो टोली बडो रमाइलो र नयाँ वर्षको पहिलो दिन उत्साहका साथ रमाइलो गर्दै बिहान करिब १०ः३० मा मन्दिरको प्राङ्गणमा पुग्यौँ । दर्शन गर्नेहरूको लामै भिडभाड थियो । शनिबार, त्यहीमाथि नयाँ वर्षको पहिलो दिन भीड हुनु स्वाभाविक नै हो । त्यहीमाथि आस्तिकहरूको लागि त यो दिन चाड नै बन्थ्यो हरेक वर्ष । भिड छिचोल्दै धैर्यताका साथ बल्ल पालो आयो दर्शन गर्‍यौ घुमफिर गर्‍यौ, तस्बिरहरू खिच्यौँ खिँचायौँ ।

अब सबै जना एकैठाउँमा जम्मा भएर गाडी चढ्यौँ । बिस्तारै गुरुजीले गाडी अघि बढाए । पहाडको साँघुरो सडक, कहीँ कच्ची कतै कालोपत्रे । गीत गाउँदै, सुन्दै गाडीभित्र पनि रमाइलो गर्दै ओराली झर्‍यौँ । टोपी खस्ने उकाली र ओरालीमा नियन्त्रित सवारी साधन जब समतल सडकमा आइपुग्यो अनि एकैछिन सबै गाडीबाट झरेर आराम गर्‍यौँ । हरियाली हेर्‍यौ, प्रकृतिमा रमार्‍यौँ पनि । समय त्यस्तै दिउँसोको ३ः१० जति बजेको थियो फेरि सबै जना गाडीभित्र बस्यौँ । गुरुजीले गाडी स्टार्ट गरे । गाडीसम्म सडकमा ३ मिटर अघि बढ्न नपाउँदै अनियन्त्रित बन्न पुग्यो बायाँ लेनमा गुड्नुपर्ने गाडी एक्कासि दायाँतिर मोडियो ।

गुरुले फेरि बायाँ मोड्न खोज्दा गाडी दायाँ अनकन्ट्रोल भई भयङ्कर स्ट्रन बन्न पुग्यो । आफ्नो मृत्युको दृश्य थाहा पाउनेहरु आत्तिँदै चिच्याउन थाले अब मर्दैछौं हामी । सर्कशमा झैँ गाडीसम्म सडकमा उड्यो र बजारियो । सडकमै दुई पटक बजारिएको गाडी फेरि उछिट्टिएर सडकबाट तल खसी दुवै पोलमा ठोकियो, पोल भाँचियो गाडी फेरि उछिट्टिएर पूरानो घर भित्रै बजारियो गाडीको अघिल्लो भाग सबै कुच्चियो, चारैतिरका सिसाहरू झुरुम्म फुटे यसभित्रका यात्री गुरुजी समेत ११ जना हामीहरूको त्यही पूरानो घरको अस्थिपञ्जरले हामीहरूलाई नयाँ जीवन दान दियो ।

२०८१ सालको पहिलो दिन मृत्युलोकबाट सबैजना फर्कियौँ । भगवानको दर्शन गरेर फर्किएका हामीहरूलाई भगवानले कसरी यस्तो चोट दिए यो त ? अनुसन्धानको पाटो नै रहला जीवनभरि । हामी सजीव र चेतनशील प्राणी हौँ तर अचेतन र निर्जीव वस्तुसँग शुभलाभको कामना गर्छौँ । अप्ठ्यारा ठाउँहरूमा जान्छौँ, टाढाको वस्तुहरूलाई विश्वास गर्छौ, अनकन्टार, टाढा र दुर्गम स्थानहरूमा भएका देवस्थलहरूमा अझ बढी शक्ति देख्छौँ । जीवन अनिश्चितताको डोरी रहेछ जुनसुकै बेला चुँडिन सक्ने रहेछ ।

हामी बलियो गाँठो पारे भनेर मस्त निदाउँछौ । जीवन खुलेर जिउनु पर्ने रहेछ, सधैँ खुसीले हाँस्नु पर्ने रहेछ । हेर्नुस् त मेरो आफ्नै जीवन त आफ्नो नियन्त्रणमा नहुँदो रहेछ कहिलेकाहीँ । यात्रा अनिश्चितताको गन्तव्य हो । निस्कन हतार गर्‍यौँ भने फर्कने टुङ्गो नहुने रहेछ । हरेक यात्रामा गर्नु पूर्व सवारी साधनको कण्डिसन जाँच गर्ने बानी गरौँ, भिडभाडमा यात्रा नगरौँ, यात्रु क्षमता भन्दा बढी भारमा यात्रा गर्दै नगरौँ । जीवन अमूल्य छ, यसलाई अमूल्य नै बनाई राखौँ ।

तपाईको प्रतिक्रिया