मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रसहितको वर्तमान सत्ता गठबन्धनमा देखिएको संकट तत्कालका लागि टरेको छ । पूर्व सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी (नेकपा एस)लाई दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार भएपछि गठबन्धनमा देखिएको संकट टरेको हो ।

पूर्व सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नदिएको भन्दै एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग असन्तुष्ट नेकपा एस मंगलबार अपराहृनदेखि सहमतिमा आएसँगै तत्कालका लागि केन्द्रीय सत्ता गठबन्धनमा देखिएको ठूलो समस्या हटेको हो । गत फागुन २१ गते बनेको एमाले सहितको गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउँदा सात बुँदे सहमति भएको थियो ।

त्यसलाई पालना नगर्दा एकीकृत समाजवादीले वैशाख २ गतेदेखि प्रमुख प्रतिपक्ष दल नेकपा कांग्रेसको कित्तामा उभिने प्रयास थालेको थियो । जसले सुदूरपश्चिममा केन्द्रीय गठबन्धनविरुद्ध एकीकृत समाजवादी उभिएको थियो । त्यही कारण गठबन्धन टुट्ने चर्चा सुरु भएको थियो । गठबन्धन धरापमा पर्नबाट रोक्न मंगलबार दिनभर माओवादी, एमाले र एकीकृत समाजवादीका नेताहरू दौडधुप गरेका थिए । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको नेतृत्व नपाए गठबन्धन छोड्ने चेतावनी दिएको थियो ।

उसले सुदूरपश्चिममा कांग्रेसको साथ लिएर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीको पक्षमा समर्थन जनाएपछि केन्द्रको गठबन्धनसम्मै हलचल उत्पन्न भएको थियो । समाजवादीले गठबन्धन छोडेमा बागमती र लुम्बिनी प्रदेशका सरकारसमेत धरापमा पर्ने स्थिति थियो ।

केन्द्रमा पनि एकीकृत समाजवादीका १० सांसद छन् । उसले साथ छाड्दा गठबन्धन निकै कमजोर बन्छ । तर, नयाँ सहमतिसँगै त्यो संकट टरेको छ । एकीकृत समाजवादीलाई बिच्किन नदिन प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतले पहल गरेका थिए । गठबन्धनको संकट समाधानका लागि समाजवादीका नेता झलनाथ खनालले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् ।

गठबन्धनबीच बनेको नयाँ सहमतिपछि प्रतिक्रिया दिँदै नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले हालको सहमतिले युद्धविराम जस्तो स्थिति बनेको जानकारी दिए । ‘सहमति जुट्यो, संकट एकछिनका लागि टर्छ । त्यहाँका लागि एकछिनका लागि युद्धविराम जस्तो । अस्थायी शान्ति हुन्छ । स्थायी शान्ति पाउन अरू धेरै कुरा गर्नुपर्छ,’ उनले भने ।

अब सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । यसअघि नाउपा भित्रैबाट कैलाश चौधरी र लक्ष्मण किशोर चौधरीले छुट्टाछुट्टै दाबी पेस गरेपछि मुख्यमन्त्री चयन प्रक्रिया रोकिएको थियो ।

एकीकृत समाजवादीका सुदूरपश्चिम दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउन सहमति जुटेको माओवादी केन्द्रका सुदूरपश्चिम दलका नेता मानबहादुर धामीले बताए । ‘सुदूरपश्चिममा सरकार बनाउन अड्केको हलो फुत्कियो, अब अगाडि बढ्यो,’ उनले भने, ‘अहिले हामीबीच सहमति जुटेको छ, अब नाउपाले पनि एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सहमति जनाउन तयार भएको छ ।’

तपाईको प्रतिक्रिया