मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको औचित्य झनै पुष्टि भएको दाबी गरेका छन् । प्रहरीको अनुसन्धान विश्वसनीय नभएकाले आफूहरूले संसदीय छानबिनको कुरा गरिरहेको उनले बताए ।

संवाद यात्राका क्रममा मंगलबार कञ्चनपुरको पुनर्वासमा आयोजित कार्यक्रममा महामन्त्री थापाले सहकारी ठग्न रवि लामिछाने र गृहमन्त्री लामिछाने एउटै हुन्-होइनन् भनेर प्रहरीले छुट्याउन नसकेका कारण संसदीय छानबिनको औचित्य पुष्टि भएको बताएका हुन् ।

‘संसद्मा यति कुरा भनियो-सहकारीको रकम अपचलन भएको छ, प्रहरीको अनुसन्धान विश्वसनीय छैन । त्यसकारण संसदीय छानबिन आवश्यक छ । हामीले भनेको कुरा प्रमाणित भयो,’ उनले भने, ‘हिजो सरकारी वकिलले प्रहरीको अनुसन्धानलाई आधार बनाएर मुद्दा दायर गर्‍यो । प्रहरीले के भन्यो भने- सहकारीमा ठगी गर्ने र अहिलेको गृहमन्त्री एउटै हुन्-होइनन् भनेर जाँच्ने मसँग क्षमता छैन भनेपछि अब संसदीय बनाएर खोज्नु पर्‍यो कि परेन ?’

बुटवलको सुप्रिम सहकारी ठगीमा रविको संलग्नताको प्रमाण प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा फेला परेको थियो । ‘जनतामा लोकप्रिय छु, सरकारका शक्तिशाली छु भन्दैमा नयाँ दलको नेतालाई छानबिन गर्नु पर्दैन ?’ थापाले प्रश्न गरे । कांग्रेसले सहकारी ठगीमा लामिछानेको संलग्नता रहेको भन्दै गत चैत ६ गतेदेखि संसद्मा लगातार संसदीय छानबिनको माग राख्दै आएको छ ।

तपाईको प्रतिक्रिया