मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै मंगलबार प्रदर्शन गरेका छन् । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि छानबिनको माग गर्दै सुप्रिम सहकारीका पीडितहरुले मंगलबार बुटवलमा प्रदर्शन गरेका हुन् । बुटवल र भैरहवामा रहेको सो सहकारीका पीडित बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका लामिछानेमाथि छानबिनका लागि दबाब स्वरुप विरोधमा उत्रिएको बताएका छन् ।

सुप्रिम सहकारी पीडित संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा सहभागी पीडितले रकम हिनामिनामा संलग्न सो संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पक्राउ गरेर कारबाही गर्न पनि माग गरेका छन् ।बुटवलको राजमार्ग चौराहामा भेला भएका पीडितले विभिन्न माग उल्लेख गरिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । राजमार्ग चौराहाबाट नाराबाजी गर्दै पीडित बुटवलको ट्राफिक चोकसम्म पुगेका थिए ।

यसअघिका विरोध कार्यक्रममा गृहमन्त्रीको नाम नलिएका पीडितले मंगलबार लामिछानेमाथि छानबिनको माग गरेका हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा प्रमाण समेटेर लामिछानेले सहकारीबाट दुई करोड रुपैयाँ अपचलन गरेको उल्लेख गरिएको छ । रकम अपचलन गरेको पुष्टि भएको खबर सार्वजनिक भएपछि पीडितले गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् । संघर्ष समितिका संयोजक विजयकुमार नेपालले पीडितले संघर्षलाई निरन्तरता दिने बताउनुभयो । सडक प्रदर्शनबाट माग पूरा नभए काठमाडौं आएर संघीय सदन घेराउ गर्ने उहाँले चेतावनी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया