मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्न माग गरेको छ । राप्रपाले आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा घाइते भएका बर्दियाका डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको थियो । राप्रपाले सोमबार शोक वक्तव्य जारी गर्दै डाँगीको निधनले राप्रपालाई ठुलो क्षति पुगेको भन्दै स्व.डाँगीलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको हो ।

राप्रपाले संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुमाथि गरिएको दमन निन्दनीय भएको पनि बताएको छ । प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘…नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास हो । स्व. ठाकुर प्रसाद डाँगीलाई शहीद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राप्रपा सरकारसंग माग गर्दछ ।’

२७ चैतमा राप्रपाले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज, पानीको फोहरा र अश्रुग्याँस प्रहारबाट चार दर्जन बढी घाइते भएकामध्ये धेरै घाइते उपचारपछि घर फर्किसके पनि जटिल शल्यक्रिया गर्नुपर्ने ६ जना अझै उपचारका क्रममा विभिन्न अस्पतालमा रहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । डाँगीको निधनमा शोक प्रकट गर्न राप्रपाले ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झण्डा झुकाउने र १३ औं दिनको पुण्यतिथिमा केन्द्रमा र सम्पूर्ण जिल्लामा शोकसभा गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया