मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा अवस्थित ऐतिहासिक खड्गकालिका मन्दिरको आज उद्घाटन गरेका छन् । सप्ताहव्यापी विश्वसम्पदा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त मन्दिरको उद्घाटन गरेका हुन् । पुरातत्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक महत्वको मन्दिर उद्घाटनका लागि पौडेल आजै गृह जिल्ला पुगेका थिए । कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायत सहभागी थिए ।

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सुरु गरिएको थियो । तनहुँसुरमा रहेको दरबारको विसं २०७६ मा पुरातत्व विभागले उत्खनन् गरेको थियो । सोही दरबारको नजिकै रहेको खड्गदेवी मन्दिरको पुनर्निर्माण गरिएको हो । जीर्ण अवस्थामा रहेको मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरिएको वडाध्यक्ष दलबहादुर दुराले जानकारी दिए । उनका अनुसार उक्त मन्दिरमा तत्कालीन सेन वंशीय राजाले पूजाआजा गर्ने गरेको किंवदन्ती छ ।

खड्गकालिकाको शेषका रुपमा तनहुँको व्यास–४ दमौलीमा पनि तनहुँ कालिका मन्दिर निर्माण गरिएको छ । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंस भएर रहेको भन्ने किंवदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ । तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्यायनिसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिंढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवती पानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।

 

तपाईको प्रतिक्रिया