सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – होक्काइडो नेपाल बिजनेस ग्रुप (एचएनबीजी)ले आफ्नो छैटौं शाखा इजाकाया होक्काइडो र्याडिसन होटेल परिसर लाजिम्पाटमा सञ्चालनमा ल्याएको छ । नेपालमा जापानिज फुड कल्चर भित्र्याउने अग्रणी संस्थाको रूपमा रहेको एचएनबीजीले सन् २०१९ देखि नेपालमा जापानिज खानाका रेस्टुरेन्टहरू सञ्चालन गर्दै आएको छ ।

पहिलो शाखाको रूपमा काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज होटेल हातामा होक्काइडो रामेन हाउस रेस्टुरेन्ट सञ्चालनमा आएको थियो । त्यसपछि संस्थाले अन्य शाखाको रुपमा देक्काइडो फार्म हाउस बुढानीलकण्ठ, ओमाकासे नक्साल, होक्काइडो हाउस सानेपा र होक्काइडो बेन्तो हाउस बौद्ध सञ्चालनमा ल्याएको थियो ।

यो संस्थाले क्यूएक्सको रुपमा लबिम मल पूल्चोक र ली शेर्पा काठमाडौंमा अन्य शाखाहरु सञ्चालन गरेको छ । रेस्टुरेन्टलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नका लागि एचएनबीजीको रुपन्देहीको भैरहवामा देक्काइदो एग्रो फार्म समेत सञ्चालनमा ल्याएको ग्रुपमा निर्देशक अर्जुन अधिकारीले जानकारी दिए ।

जापानिज फुड कल्चरको प्रवर्द्धन गर्दै रेस्टुरेन्टहरू मार्फत जापानी खानाका पारखीको सेवामा समर्पित यो समूहमा १७० जना बढीको टिमले काम गरिरहेको छ । जापानको होक्काइडोमा नेपाली फुड कल्चरलाई विस्तार गरेका अधिकारी नेतृत्वको समूहले सोही प्रेरणाका कारण नेपालमा जापानको फुड कल्चर विस्तारमा लागेका बताइएको छ ।

मुख्यगरी उत्पादन, उद्यमी र लगानीलाई आफ्नो प्राथमिकतामा राखेको यो समूहले आन्तरिक सशक्तिकरण मार्फत विदेशी लगानी भित्र्याउने वातावरण निर्माणको योजना बनाएको संस्थाका निर्देशक अधिकारीको भनाइ छ । देशको समृद्धिका लागि नागरिकलाई पहिला उत्पादनसँग जोड्नुपर्ने बताउने निर्देशक अधिकारी उत्पादनलाई गुणस्तरीय बनाउनका लागि विदेशी प्रविधि, लगानी र सीप भित्र्याउने गरी काम गर्ने बताउँछन् ।

‘पहिला उत्पादनलाई फोकस गर्छौ अनी गुणस्तरीय उत्पादनका लागि सफल प्रविधि र सीपसँगै लगानी भित्र्याउँछौं,’ उनी भन्छन्, ‘यसले उद्यमी बन्न प्रेरित गर्छ र स्वदेशमा नै उत्पादन, उद्यमी र गुणस्तरीय सेवा प्रवाह हुन्छ ।’

कम्तीमा एक सय उद्यमी जन्माउने सपना बोकेका अधिकारीले हालसम्म ७ जना सफल उद्यमीलाई यो क्षेत्रमा स्थापित गराएको बताउँछन् । लाजिम्पाटमा रहेको इजाकाया होक्काइडोले जापनिज फुड पारखीका लागि ५० बढी परिकार उपलब्ध रहनेछ । स्वदेशी तथा विदेशी पाहुनाका लागि उच्च गुणस्तरका परिकार पस्कँदै आएको इजाकायामा शाकाहारी र मांसाहारी छुट्टाछुट्टै मेनुको व्यवस्था छ ।

नेपाली र जापानी चाडपर्वहरूमा इजाकायाले विशेष कार्यक्रमको साथ आफ्ना उपभोक्ताका लागि आकर्षक प्याकेज ल्याउने अधिकारीले बताए । ७० जना अट्ने हलको व्यवस्था रहेको इजाकायामा सभा, समारोह तथा अन्य कार्यक्रमका लागि माग बमोजिमका सेवा उपलब्ध छन् ।

साताको सबै दिन खुला रहने इजाकाय आइतबारदेखि शुक्रबारसम्म बिहान ११ देखि बेलुका १० र शनिवार अपराह्न १२ बजेदेखि बेलुका १० बजेसम्म खुला रहन्छ। इजाकायाले हाल आफ्ना सबै सेवाहरूमा १५ प्रतिशत छुट दिएको छ ।

तपाईको प्रतिक्रिया