Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी बिरामी भई औषधी उपचार गर्दा अस्पताल वा क्लिनिकमा धेरै नै खर्च भएको छ भने कर रिटर्न फाइल गरेमा कर फिर्ता पाउने प्रक्रियाको बारेमा जानकारी गराउने प्रयास गरिएको छ । यस प्रक्रियालाई ‘चिकित्सा खर्च कटौती’ (いりょうひこうじょ) भनिन्छ ।

चिकित्सा खर्च कटौतीको अर्थ यदि सपरिवारको क्लिनिक, अस्पताल र औषधिको वार्षिक खर्च १० मान येन भन्दा बढी भएमा कर कार्यालयमा अन्तिम कर रिटर्न फाइल गरेर आफ्नो कर फिर्ता गराउने प्रक्रियालाई जनाउँछ । कर कार्यालयमा अन्तिम कर रिटर्न फाइल गरेमा निवास कर कम वा रिटर्न हुन्छ ।

सँगै बस्ने परिवारका सदस्यहरूका लागि मात्र तिरेको रकमको कुल हिसाब गर्न सकिन्छ । जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा क्लिनिक, अस्पताल र औषधि खरिदमा परिवारको खर्च १० मान येन भन्दा बढी छ भने कर घटाइने छ वा कर फिर्ता पाउनुहुने छ ।

यसैगरी २ सय ९७ मान येन भन्दा कम तलब भएका व्यक्तिहरूले अस्पताल आदिलाई तिर्ने कुल रकम १० मान येन भन्दा कम भए पनि कर फिर्ता पाईने छ वा कर कम हुने छ । उच्च लागतको चिकित्सा उपचार प्रक्रिया वा प्रसव र बाल हेरचाह एकमुष्ट भत्ता प्राप्त गर्नेहरूका लागि प्राप्त रकम घटाएर कुल रकम गणना गरिने छ । सामान्यतया, रोग निको पार्न फार्मेसीका औषधि, डाक्टर वा दन्तचिकित्सकको अपोइन्टमेन्टमा लाग्ने लागत समावेश गर्न सकिने छ । तर सौन्दर्य उपचारको लागत भने समावेश गर्न सकिने छैन ।
१. भुक्तानी हुने रकममा समावेश गर्न सकिने शीर्षकहरु :
क. रोग निको पार्ने लागत
ख. दन्त चिकित्सकद्वारा दाँत मर्मत गर्दाको लागत र प्रत्यारोपण गर्दाको लागत
ग. अस्पताल भर्ना हुँदा लाग्ने लागत
घ. बच्चा जन्माउँदासम्मको लागत
ङ. गर्भपातको बेलामा लाग्ने लागत (बच्चाको मृत्यु हुँदा)
च. रुघा खोकी लाग्दा औषधि खर्चको लागत
(मात्सुमोतो कियोशी जस्ता स्टोरबाट खरिद गरिएको समेत)
छ. क्लिनिक वा अस्पताल जाँदा हुने यातायात खर्च
(ट्रेन, बस, ट्याक्सी आदिको भाडा)
२. भुक्तानी हुने रकममा समावेश गर्न नसकिने खर्चका शीर्षकहरु
क. स्वास्थ्य जाँच र परीक्षणको लागत
ख. मेडिकल चेकअप लागत
ग. खोपको लागत
घ. सौन्दर्यताका लागि गरिने कस्मेटिक सर्जरी लागत
ङ. इन्धन, ऊर्जा तथा पेयपदार्थको लागत
च. खानामा भएको लागत
छ. दन्त चिकित्सालयमा दाँत चम्काउनका लागि भएको लागत
ज. बच्चाको लुगा तथा डायपरमा भएको लागत
झ. चश्मा तथा कन्ट्याक्ट लेन्सको लागत
ञ. मसाज वा थकान कम गर्न अन्य कुनै प्रयोजनमा भएको लागत
ट. इन्धन तथा पार्किङ शुल्कमा भएको लागत

३. चिकित्सा खर्च कटौतीका लागि अन्तिम कर रिटर्न फाइल गरेपछि रसिदहरू ६ वर्षसम्म राख्नुपर्दछ । यदि रसिद हराउनुभएमा क्लिनिक वा अस्पताललाई पुनः जारी गर्न अनुरोध गरि भुक्तानी गरेको प्रमाणित हुने कागजात तयार गर्नुपर्दछ ।
४. चिकित्सा खर्च कटौती कर गणना प्रक्रिया हो । यो प्रक्रिया १० मान येन भन्दा बढी खर्च लाग्दा अस्पतालको पैसा फिर्ता पाउने प्रक्रिया होइन ।
५ यदि सुरुदेखिनै शून्य कर छ भने अन्तिम कर रिटर्न फाइल गरे पनि कुनै कर फिर्ता हुनेछैन ।
६. विगतमा आफ्नो कर रिटर्न फाइल गर्न बिर्सिएको भए पनि पाँच वर्ष अघिसम्मको आफ्नो कर रिटर्न फाइल गर्न र कर फिर्ता प्राप्त गर्न सकिने छ ।

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mob. 080-5802-8841

 

तपाईको प्रतिक्रिया