मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्ड वुल्भ्सले ‘क्लिन स्वीप’ गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ६९ रनको सहज जित निकाल्दै वुल्भ्सले शृंखला क्लिन स्वीप गरेको हो ।

खेलमा वुल्भ्सले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९.४ ओभरमा २१५ रनमा आलआउट भयो । नेपालका अर्जुन कुमालले शतक बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ११८ बलमा १४ चौकासहित १०२ रनको योगदान गरे ।

अर्जुन साउदले ३६, नरेन भट्ट र रुपेश सिंहले समान १५ रन बनाए । देव खनाल ११ रन जोडेर आउट भए । भीम सार्की ‘गोल्डेन डक’ भएका थिए । नेपाललाई सस्तैमा समेट्न वुल्भ्सका बेन ह्वाइटले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका ह्वाइटले एक मेडन फ्याँक्दै ६२ रन खर्चिए । गाभिन होइले चार र म्याथ्यु फोस्टरले एक विकेट हात पारे ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको आयरल्यान्ड वुल्भ्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८४ रन बनाएको थियो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १०७ रन जोडे । उनले १२९ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । पेटर मुरले ४४, म्याथ्यु हम्फ्रेसले २३, मोर्गन टोपिङले २१, फियोन ह्यान्डले २० रन थपे । बेन ह्वाइटले १९ र गाभिन होइले १४ रन बनाए ।

नेपालका रिजन ढकाल र रञ्जीत कुमारले समान तीन विकेट लिए । विकास आग्री र साहब आलमले एक/एक विकेट हात पारे । घरेलु टिमविरुद्धको पहिलो एकदिवसीय खेलमा वुल्भ्स २१ र दोस्रो खेलमा ११४ रनले विजयी भएको थियो ।

तपाईको प्रतिक्रिया