सोमबार, जेठ १४, २०८१
Monday, May 27, 2024

प्यूठान – लालीगुराँसले राताम्मे जङ्गल । आँखैअगाडि ठोक्किँदा चुमौँचुमौँ लाग्ने सेताम्मे हिमाल । जङ्गलको बीचमा कतै गोठ भेटिन्छन् त कतै ओडारका बास । डाँडा र हिमालको सौन्दर्यताले मनमोहित हुने जङ्गलका चरन क्षेत्रमा भेटिन्छन् भेडाका बथान ।

प्यूठानको गौमुखी गाउँपालिका ३ रजवारा नाङ्गीको क्षेत्र निकै रमाइलो र लोभलाग्दो देखिन्छ । गौमुखीनौबहिनी पर्यटकीय पदमार्गअन्तर्गतको नाङ्गी मेलबास जङ्गलमा लालीगुराँसको सौन्दर्यतामा भेडापालक किसानले महत्व थपेका छन् । पुसदेखि जेठसम्म यस आसपासमा भेटिन्छन् २२ वर्षीय निशान्त पुनमगर र ६३ वर्षीय जीवन बुढामगर ।

वृद्ध बुढामगरले आफ्नो जीवन भेडीगोठमै व्यतीत गरिसकेका छन् । बाल्यकालमा बुवा, बाजेसँग भेडीगोठमा बिताएको सम्झँदै उनी भेडीगोठमा काम गर्ने मजदुरको रूपमा अहिले काम गर्न थालेको बताउँछन् । उनले भने, ‘जीवनभर अन्तिम समयसम्म भेडीगोठमा जीवन बिताएँ । गाउँभन्दा भेडीगोठ प्यारो लाग्दछ । गोठालो जीवन नै प्रिय बन्यो ।’

रुकुमको तकसेरा गाउँका बासिन्दा रहेका जीवनले भेडीगोठमा आफ्नो जीवनको अधिकांश समय बिताए । उमेर बढ्दै जाँदा गालाका छाला चाउरी पर्न लागे, दाँत झर्न लागे तर उनको जाँगर घटेको छैन । भेडीगोठसँगको उनको सामीप्यता उस्तै छ । गोठमा घाम, पानी, असिना र हिउँमा सङ्घर्षमय तरिकाले रमाएका जीवन बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाकेका छैनन् । अझै केही वर्ष भेडीगोठमा बिताउने रहर रहेको उनको भनाइ छ ।

बागलुङको निसीखोला गाउँपालिका चेलबाङ्का २२ वर्षीय निशान्त पुनमगरले भेडाबाख्रा चराउन थालेको चार वर्ष भयो । भेडा पालन उनको पुर्ख्यौली पेसा हो । बुवा एक्लैले भेडा पालन गर्न नसक्ने भएपछि कक्षा ८ मा पढ्दै गर्दा उनले पढाइ छाड्नुपर्यो । अहिले मगर भेडा चराउन बर्सेनि लेकबेँसी गरिरहेका छन् ।

पाँच सय ५० भेडाको बथानसहित आएका मगर प्युठानको अर्खास्थित लेकाली भेगको मेलवास जङ्गलमा भेडाबाख्रा चराइरहेका छन् । हिउँ छल्न रुकुम, रोल्पाको उच्च पहाडी लेक चहार्दै अर्खाको गौमुखी जङ्गल क्षेत्रमा झरेको निशान्त पुनमगरले बताए । उनको सिङ्गो परिवार यही पेसामै आश्रित छ ।

कलिलो उमेरदेखि नै बुवासँग फिरन्ते जीवनको अनुभव गर्दै आएको बताउने निशान्तले भने, ‘चरनको खोजीमा भेडाबाख्रा जता लगिन्छ, उतै पाल टाँगेर गोठ बनाएर बस्ने गरेका छौँ ।’ उनले बुवाले व्यतीत गरेको भेडीगोठको जीवनलाई आफूले निरन्तरता दिन लागेका हुन् । भेडा पालनबाट हुने फाइदा, जीवनयापनमा आश्रित परिवारका लागि खर्चको जोहो गर्न सकिने विश्वासले उनले यो पेसालाई अङ्गालेका हुन् ।

यस क्षेत्रमा आधा दर्जन गोठ ठूलो बथानसहित रहेको पाइन्छ । भेडीगोठ सरिरहन्छन् । गोठ छिटोछिटो सार्नुपर्ने भएकाले उति व्यवस्थित हुँदैनन् । गोठाला त्रिपालले छाएका गोठ र ओढारमुनि बस्छन् । खाने खर्च र कपडा बोकेर उनीहरू भेडाको बथानसहित चरन क्षेत्र रहन्छन् भने खाने खर्चको हप्तामा एकपटक नजिकका गाउँ, आफ्नो घर क्षेत्रबाट खर्च पुर्याउने गरिएको हुन्छ ।

वर्षमा झण्डै ११ महिना खुला आकाशमुनि जङ्गलमै रात बिताउने उनले हिउँदभन्दा वर्षामा दैनिकी कष्टकर हुने सुनाए । जाडो याममा हिउँ पर्न थालेपछि गोठमा काम गर्नेहरू घर फर्किन्छन् । उनले वर्षामा पाठापाठी हुर्काउन बढी समस्या हुने बताए ।

मगरले भेडाबाख्रा चराउन ल्याएवापत स्थानीयलाई देवालीका लागि दुई भेडा र पाँच वर्षसम्म चरन क्षेत्रका लागि रु एक लाख बुझाएका छन् । उनले भने, ‘यो याममा सधैं नाङ्गीको जङ्गलमा आउँछौँ । यहाँ पोषिलो घाँस भएकाले भेडाबाख्रा निकै मोटा हुन्छन् ।’

एक सहयोगीसहित गत पुसमा यहाँ आएका मगर गर्मीयाम सुरु भएपछि भेडाबाख्रा लिएर ढोरपाटनको उकालो चढ्ने तरखरमा छन् । उनले बागलुङको ढोरपाटन क्षेत्रको लेकाली भेगमा जेठसम्म फर्केर रोल्पा, रुकुम हुँदै गोठालासँग भेडा मिसाएर चराउने बताए । जङ्गली जनावरबाट भेडाबाख्रा जोगाउन चारवटा भोटेकुकुर पालेका छन् । भेडी गोठाला मगरले कुकुरले जङ्गली जनावरबाट जोगाउन मद्दत गरेको बताए ।

भेडाबाख्रा पालनबाट वार्षिक रु ११ लाख कमाउने मगर बताउँछन् । प्यूठानसहित बागलुङ, रुकुम, रोल्पा, गुल्मी तथा अन्य थुप्रै ठाउँबाट भेडाबाख्रा लिन चरन क्षेत्रमै ग्राहक आउँछन् । प्रतिभेडा रु १५ देखि २५ हजारसम्ममा बिक्री हुन्छ । वर्षमा दुईपटक ऊन निकाल्ने र भेडा बिक्रीबाट वार्षिक रु ११ लाखको कारोबार र रु चार लाख बचत हुने उनले सुनाए ।

प्यूठानको लेकाली क्षेत्रमा प्रशस्त भेडीगोठ छन् । स्थानीयले समेत एक सयदेखि दुई-तीन सयका हाराहारीमा भेडा पालेर बसेका छन् । प्यूठान गौमुखी ३ उत्तिसेमा दुई सयवटा भेडा पालेर बसेका भविराम पुनले भेडा पालन गतिलो आम्दानीको स्रोत बनेको बताए । –राससको सहयोगमा

तपाईको प्रतिक्रिया