मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अष्ट्रेलियाको न्यू साउथ वेल्समा व्यापक वर्षापछि आइतबार आएको बाढीका कारण सयौँ व्यक्ति प्रभावित भएका छन् । उत्तरपूर्वी सिड्नीमा भारी वर्षापछि बाढी र डुबानको जोखिमबाट सुरक्षा दिन करिब ३०० घरखाली गराइएको आपतकालीन सेवाहरूले जनाएका छन् । सङ्घीय विपद् व्यवस्थापन मन्त्री क्याथरिन किङका अनुसार बाढीको पानीले छोटो समयमा नै राज्यभरि व्यापक क्षति पुर्याएको छ ।

न्यू साउथ वेल्स सरकारले क्षतिको आँकलन गर्न र यस विपत्तिको प्रभाव बुझ्ने कार्यलाई जारी राखेको छ । आपतकालीन सेवा राज्यमन्त्री जिहाद डिबका अनुसार उद्धारकर्मीले शुक्रबारदेखि समाचार तयार पार्दासम्म करिब २०० घरपरिवारलाई उद्धार गरी सुरक्षित स्थलमा पुर्याएका छन् । उनका अनुसार करिब पाँच हजार स्वयंसेवकले रातभर काम गरेर प्रभावितलाई सहयोग गरेका थिए ।

राज्यका आपतकालीन आयुक्त कार्लीन योर्कका अनुसार बाढी प्रभावित क्षेत्रमा बाढीजन्य जोखिमबाट बच्न नियमित सूचना जारी गरिरहेको छ । जलवायु परिवर्तनले बाढी, डढेलो र चक्रवातजस्ता प्राकृतिक प्रकोपको जोखिम बढाउँछ भनेर अनुसन्धाताहरूले बारम्बार चेतावनी दिँदै आएका समय पछिल्लो डेढ बर्षमा यस क्षेत्रमा सात पटकभन्दा बढी बाढी आएको छ । अधिकारीहरूले सफाइ खर्च र आपतकालीन आवासका लागि भुक्तानीमासहयोग गर्न प्रकोप सहायता सुरु गरेका छन् ।

 

तपाईको प्रतिक्रिया