मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि कांग्रेसका तर्फबाट उम्मेदवार डम्बर खड्काले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय इलाममा खड्काले केन्द्रीय नेताहरूको उपस्थितिमा मनोनयन दर्ता गराएका हुन् ।

खड्काको मनोनयनसँगै इलाम २ को उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनेको संख्या ७ पुगेको छ । खड्का २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा इलाम २ बाट पराजित भएका थिए । उक्त निर्वाचनबाट निर्वाचित एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी मनोनयन दर्ता गराउनेमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का साझा उम्मेदवार सुहाङ नेम्बाङ रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिम र नेकपा (एकीकृत समाजवादी) का जीतबहादुर राई रहेका छन् ।

सबै उम्मेदवारले बाँजागाँजा र झाँकीसहित निर्वाचन कार्यालयमा गइ उम्मेदवारी दर्ता गराएका हुन् । इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो ।

तपाईको प्रतिक्रिया