मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

क्यासेल्लो – गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले जाजरकोटको भूकम्पबाट क्षतिग्रस्त भएको विद्यालयको पुनर्निर्माण गर्न च्यारिटी-सांस्कृतिक साँझ आयोजना गर्ने भएको छ । आउँदो अप्रिल ८ तारिख लुभेनस्थित डोनबोस्को क्यासेल्लोमा आयोजना हुने भएको हो ।

सांगितिक कार्यक्रमबाट प्राप्त आम्दानी विद्यालय पुनर्निर्माण गरिने एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले जानकारी दिइन् । च्यारिटी-सांगितिक कार्यक्रममा भ्वाईस अफ नेपालका विजेता किरण गजमेर र लाहुरे कान्छा लगायतका स्थानीय कलाकारहरूले मनोरञ्जन दिने छन् । कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी लगायत नेपाली समुदाय र स्थानीय समुदायको उपस्थिति रहने छ ।

बेल्जियमसँग जोडिएका वरपरकाछिमेकी देशहरू नेदरल्यान्ड, जर्मनी, लग्जेम्बर्ग र फ्रान्सका एनआरएनएका अध्यक्षहरू पनि कार्यक्रममा उपस्थित हुने बताइएको छ । क्यासेल्लो लुभेनमा आयोजना हुने कार्यक्रमको लागि एन्तवेरपेनबाट जान आउन बसको व्यवस्था गरिएको छ । नयाँ वर्षको शुभकामना आदान प्रदानका साथै मनोरञ्जन र खानपानको व्यवस्था पनि गरिएको छ ।

नेपालमा आइपर्ने विपत्तिका साथै मातृभूमिलाई आवश्यक पर्दा गैर आवासीय नेपाली संघ लगायत विदेशस्थित संघसंस्थाहरुले हातेमालो गरेर सहयोग गर्दै आएका छन् । गत वर्ष नेपालको जाजरकोटमा गएको विनाशकारी भूकम्पको कारण जीर्ण बनेको विद्यालय पुनर्निर्माणका लागि केही रकम पहिला नै संकलन भइसकेकोमा नेपाली नयाँ वर्षको अवसर पारेर अरू सहयोग जुटाउने हिसाबले एनआरएनए बेल्जियमले च्यारिटी कार्यक्रम आयोजना गरेको हो ।

हाल सम्म २७ लाख रुपैयाँ जम्मा भइसकेको र कार्यक्रम सम्पन्न हुँदा सम्म यो रकम बढ्ने भएकाले ५ कोठे पक्की भवन नै निर्माण गर्न रकम पुग्ने कुरा अध्यक्ष सापकोटाले बताइन् ।

तपाईको प्रतिक्रिया