सोमबार, जेठ १४, २०८१
Monday, May 27, 2024

काठमाडौं – भित्ताभरि टाँसिएका बच्चाका तस्बिरले रीमा घलेको मन थामिँदैन । चिकित्सकको पालो कुर्दै बसेकी उनी जुरुक्क उठेर तस्बिर भएतिर पुग्छिन् । औँलाले आकृति सुम्सुमाउँछिन् । यतिले मात्रै उनको मातृत्व भरिँदैन । मोबाइलले तस्बिर खिच्न थालिन् ।

हुन त उनको रहर काखैमा बच्चा समाउने, हुर्काउने थियो । तर, तस्बिर हेरेरै चित्त बुझाउनुपर्ने नियति छ । बिजुलीबजारस्थित निःसन्तान केन्द्रमा बाँझोपनको उपचार गर्न आएकी उनी भन्छिन्, ‘आमा बन्ने रहरले केसम्म गरिनँ । सन्तानको तिर्खाले मन भतभती पोल्छ, सताउँछ ।’

अर्घाखाँची घर भएकी ४२ वर्षीया रीमालाई आमा बन्नुको पछाडि शारीरिक आवश्यकतासँगै सामाजिक बोझसमेत छ । सन्तान जन्माउन ढिलाइ भएकै कारण उनले परिवार र समाजमै विभेद खेप्नुपरेको छ । सन्तान जन्माउने सपना बोकेर दम्पतीसहित निःसन्तान केन्द्रमा धाउनुपरेको छ । उपचारका लागि ६ महिनादेखि पालो कुरेर केन्द्र आउन पाएको उनले बताइन् । ‘सकेसम्म प्रयास गर्छु, भइहाल्छ कि !,’ उनी भन्छिन् ।

सन्तानको सपना बोकेर आउनेहरूले उपचार केन्द्र भरिभराउ हुन्छ । आमा, बुबा बन्न सफल भएका पात्र देखेर कतिपय दम्पतीमा भरोसा जाग्छ ।

सर्लाहीकी भीमा साहले सन्तानलाई लिएर सजाएका थुप्रै सपना छन् । कुनै दिन उनमा पनि आमा बनेर सन्तानसहित खिचेको तस्बिर सुत्ने कोठाको भित्तामा टाँस्ने रहर छ । त्यति मात्रै होइन, सबैभन्दा ठुलो रहर त उनले मातृत्व अनुभूति गर्नुछ । सुत्दा, उठ्दा, हिँड्दा, बोल्दा जहाँसुकै सन्तानकै पीडाले पिरोल्छ उनलाई ।

बिहे गरेको ५ वर्ष नाघ्यो । तर, भीमा दम्पती निःसन्तान छ । उपचारका लागि सामान्य खर्च गर्दै आए पनि के समस्या हो ? अझै पत्तो लागेको छैन । बिजुलीबजारस्थित निःसन्तान केन्द्रमा उपचार गर्न आएका उनीहरूले सन्तानको रहर पूरा हुने वा नहुने उपचारकै क्रममा थाहा पाउने गर्छन । उनले जस्तै सन्तानको तिर्खा लिएर चिकित्सककहाँ भौँतारिने दम्पती थुपै्र छन् ।

एक्लै हुँदा आफूलाई मात्रै यस्तो परेको जस्तो मानेकी ललितपुरकी जेनिसा श्रेष्ठ जब उपचार केन्द्रमा अन्य निःसन्तान दम्पती देख्छिन्, मन शान्त पार्छिन् । २९ वर्षीया उनी सन्तान नभएकै कारण मायाले समेटिएको परिवारमा पीडा थपिएको अनुभव सुनाइन् । सन्तान जन्माउन नसकेपछि श्रीमान्को अर्कै बिहे गरिदिने दबाब आएको उनले दुःखेसो पोखिन् । उनी भन्छिन्, ‘एकातिर बाँझो हुनुको पीडा छ, अर्कातिर बेघर हुनुको डर ।’

सन्तानको तिर्खा एकातिर छँदै छ, सन्तान नहुँदा समाज र परिवारले दिने पीडा अर्को समस्या छ । खासगरी महिलाले निःसन्तान हुनुको बोझ बढी झेल्नुपर्छ । उनी निःसन्तान छिन् । बिहे गरेको थुपै वर्ष पुग्दा पनि उनी आमा बन्न सकिनन् । परिवारमा ‘बाँँँझी आइमाई ! अलच्छिनी आइमाई’ भन्दै दुव्र्यवहार गर्न थाले ।

छोरीको माया गर्ने थलो भनेको माइतीघर हो । उनी त्यही विश्वासका साथ सानीआमाको छोरीको बिहेमा पुगेकी थिइन् । उनी उत्साहित हुँदै जन्ती ल्याउन अघि सर्न नपाउँदै उनकी सानीआमाले सबैका अगाडि समाएर घिसार्दै तानिन् ।

‘यस्तो बिहेको अवसरमा तँ बाँझी आइमाई अगाडि देखापरेर अपसगुन गरिस् । तँ अलच्छिनीले गर्दा अब बहिनीको पनि बच्चा हुँदैन’ भनेर गाली गर्दै कुटपिट गरिन् । घरमा सासूलगायतले दिने यातना त छँदै थियो, माइतीमा पनि यस्तो अपमान र यातना पाएपछि उनले सहन सकिनन् । सीधै त्रिशूलीतिर हामफाल्न कस्सिइन् । ‘समाजले न मर्न दिन्छ, न बाँच्न नै,’ उनी भन्छिन्, ‘एक जना गाउँकै भाइले देखेर बचायो ।’

सन्तान नहुनुमा दोष उनको मात्रै छैन । कुलत र धुप्रपानमा फसेका श्रीमान्मा शुक्रकिट कमी हुनुका साथै उनको अण्ड विकास कमजोर छ । दम्पती दुवैको समस्याले सन्तान नजन्मिएको हँुदा समाजले महिलालाई नै दोषी ठहर गर्ने पितृसत्तात्मक सोचको सिकार उनी भएकी छिन् ।डा. उमा श्रीवास्तवका अनुसार सन्तान नहुनुको सामाजिक विभेदमा सबैभन्दा बढी महिला पर्छन् । ६० वटा मुद्दामा एक जना मात्रै पुरुष पीडित हुन्छन् । नभए सबै महिला सामाजिक र पारिवारिक चपेटामा परेको अवस्था छ । सन्तान नभएकै कारण ‘बाँझी आइमाई’ भन्दै सरापेर नन्दले तातोपानी खन्याइदिएको घटना डा. श्रीवास्तवले पीडितबाट सुनेको बताइन् ।

श्रीमान्बाट सन्तान नहुने सम्भावना देखिएमा पत्नी अझै पीडित हुन्छन् । कतिपय श्रीमान्ले आफू सन्तान उत्पादन गर्न नसक्ने अवस्था लुकाउन ३ जना पत्नी बिहे गर्न पछि नपरेका उदाहरण छन् । डा. श्रीवास्तवका अनुसार पत्नी शिक्षित र सुन्दर थिइन् । श्रीमान्को कुनै राम्रै व्यवसाय पनि छ । उनी काठमाडौँ बाहिरबाट आएकी थिइन् । एक सन्दर्भमा श्रीमतीले ‘मभन्दा अघिकी श्रीमती बच्चा नहुँदै छाडेर गएपछि उहाँले मलाई बिहे गरेको’ भनिन् । श्रीमतीले खुलेर कुरा गरिन् तर श्रीमान् अलि अनकनाउँदै थिए ।

यसअघि धेरै वर्षपहिले उनी दोस्रो पत्नी लिएर क्लिनिकमा निःसन्तान उपचार गर्न आएका थिए । त्यतिबेला नै चिकित्सकले तपाईंको शुक्रकीट उत्पादन हँुदैन, वीर्यदाताबाट सन्तान जन्माउन सकिन्छ भन्दै सल्लाह दिइएको थियो । त्यो सल्लाहलाई ती पुरुषले रिसाउँदै अस्वीकार गरे ।आफू सन्तान उत्पादन गर्न सक्षम भएको दाबी गर्दै उनले फेरि अर्को बिहे गरेछन् । तेस्रो पत्नीका साथ पुनः क्लिनिकमा उपचार गर्न आएपछि डा. श्रीवास्तवले त्यही सल्लाह दिएको बताइन् । उनी भन्छिन्, ‘पितृसत्तात्मक सोचले पुरुषले यथार्थ स्वीकार गर्दैनन्, जसको मारमा महिला परेका छन् ।’

नेपाली समाजमा बाँझोपन ठुलो समस्याका रूपमा देखापरेको छ । निःसन्तान केन्द्रकी चिकित्सक डा. उमाले केही वर्षयता निःसन्तानको समस्या बढ्दो रहेको बताइन् । विश्वभरि नै प्रत्येक दिन ६ जनामध्ये १ जनामा बाँझोपन भएको उनी सुनाउँछिन् । ढिलो विवाह, खानपान, परिवार नियोजनका अस्थायी साधनको अत्यधिक प्रयोगलगायत थुप्रै कारणले बाँझोपन निम्तिएको डा. श्रीवास्तवको बुझाइ छ ।

आमा बन्ने मोह र सामाजिक दबाबमा परेर महिलाले सन्तानको इच्छा पूरा गर्न अनेक कष्ट र चुनौती पार गर्नुपर्ने हुन्छ । यसको पछिल्लो उदाहरण हो– थापाथलीस्थित प्रसूति गृहबाट नवजात शिशु चोरी गरेर लगेकी एक महिलाको मर्मस्पर्शी घटना । पटक–पटक गर्भपतन भएको पीडासँगै बच्चा नभएर घरै फर्किन नसक्ने स्थिति भोग्दै आएकी ती महिलाले बच्चा चोर्नुबाहेक कुनै उपाय नदेखेको बताएकी थिइन् ।

टेस्ट्युब बेबीको अवधारणालाई नेपालमा प्रयोग गरेका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका अनुसार बाँझोपनको पीडा सामान्य होइन । महिलाले यो समस्याबाट धेरै दुःख र यातना पाएका छन् । २०४० सालयताको तथ्यांक हेर्ने हो भने बाँझोपनको दर उकालो लागेको डा. रिजालको ठम्याइ छ ।

झन्डै १० वर्षअघिको आँकडा हेर्दा १५ प्रतिशत निःसन्तान समस्या देखिएको थियो । यो तथ्यांक बढेर २२ प्रतिशत पुग्न लागेको उनी सुनाउँछन् । ‘वैदेशिक रोजगारमा जाने श्रीमान् र ढिलो विवाह गर्ने महिलाको संख्या बाँझोपनको मूल समस्या बन्दै गएको छ,’ उनी थप्छन, ‘साथै अनधिकृत औषधि सेवनले पाठेघर कमजोर बनाउँदै छ ।’

डा. रिजालका अनुसार वैदेशिक रोजगारमा जाने पुरुषले आधा प्रजनन क्षमता हुने समय उतै खर्चिन्छ । चिता र जिम्मेवारीको बोझ थपिँदा प्रजनन शक्ति झनै क्षीण हुन्छ । यता महिलाको उपयुक्त प्रजनन उमेर २५ देखि ३५ वर्षभित्र प्रचुर मानिन्छ । ढिलो विवाह, श्रीमान् विदेशमा लगायत समस्याले बाँझोपन निम्तिने कारण रहेको उनी बताउँछन् ।

निःसन्तान महिलाले आमा बन्ने सामाजिक दायित्वको बोझ उठाउनुपर्ने हुँदा उनीहरूको मनोवैज्ञानिक उपचार आवश्यक छ । डा. रिजाल थप्छन्, ‘सन्तान नजन्माएकै कारण महिलाले तिरस्कार सहनुपर्छ । यो उनीहरूमाथि समाजले गरेको दुव्र्यवहार हो ।’ सामाजिक सोच, व्यवहार र प्रजनन स्वास्थ्यप्रति गम्भीर नबन्ने हो भने भोलि यसले समाजमा ठुलै समस्या ल्याउन सक्नेतर्फ समयमै ध्यान जान आवश्यक छ । –राससको सहयोगमा

तपाईको प्रतिक्रिया