सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले मिडिया सञ्चालकबाटै रविको राजनीतिमा धक्का पुर्‍याउने डर देखाइएको बताएकी छन् । विभिन्न सञ्चारमाध्यमविरुद्ध काठमाडौं जिल्ला अदालतमा र प्रेस काउन्सिलमा मुद्दा दायर गरेकी निकिताले ठूला मिडियाविरुद्ध मुद्दा हाल्दा आफ्ना श्रीमानको राजनीतिमा ठूलो धक्का पुग्ने चेतावनी दिँदादिँदै पनि आफू अघि बढेको बताएकी हुन् ।

चैत २१ गते काठमाडौं महानगरपालिकाले छापा मारेको साई स्वागत सहकारीमा पौडेल आबद्ध रहेको दाबीसहितका समाचार प्रकाशित भएका थिए । तर, पौडेलले आफूले सबै ऋण तिरिसकेको अवस्थामा आफूविरुद्ध मिडियाबाट ‘हिलो छ्याप्ने’ काम भएको बताएकी छन् ।

उनले आफू न्याय मागेर छाड्ने पनि बताएकी छन् । ‘म भन्न चाहन्छु, सर्वस्व सकिए पनि म न्याय मागेरै छोड्छु । मलाई मेरो देशको न्यायालय र न्यायमुर्तीप्रति भगवान् जत्तिकै विश्वास छ,’ उनले शुक्रबार साँझ फेसबुकबाट भनेकी छन् ।

आफूले आजीवन दु:ख गरेर कमाएको प्रतिष्ठामा आफ्नो प्रतिक्रियासमेत नलिएर ठाडै चरित्र हत्या गरिएको उनको गुनासो छ । ‘एउटी नारीमाथि सबैले मिलेर देखाएको यो ‘पुरुषार्थलाई’ मेरो चुनौती छ । न्याय मलाई मात्र चाहिएको छैन, जसले जसलाई जे पनि बोल्ने लेख्ने तर सजाय पटक्कै नहुने कुराले आक्रन्त यो सिंगो समाजलाई नै न्याय चाहिएको छ । तिमीहरू आफ्नो पुरुषार्थ देखाउँदै गर्नू, म अदालततिर लागेँ,’ उनले भनेकी छन् ।

  • पूरा हेर्नुहोस् पौडेलको वक्तव्य :-

म विगत १५ वर्षदेखि मिडिया व्यवसायमा छु। कहिले कसैलाई ठगेर, लुटेर खानु परेन। म एक सञ्चारक्षेत्रको तथा उद्यमी महिला भएकाले बैंक वित्तीय संस्थाहरूसँग ऋण धन हुन्छ, लिनु पनि हुन्छ, दिनु पनि हुन्छ।

मिडिया चलाउँदाको १५ वर्षको इतिहासमा एक दिन पनि समाचार देखाएर, तर्साएर खाने धन्दा गरिनँ।आफ्नो मिडियाका कर्मचारी पत्रकारहरूको तलब आजका मितिमा बाँकी राखेको छैन। घाटा लागेको, तलबसमेत खुवाउन नसकेको संस्थालाई किर्ते गरी कागज मिलाई नाफामा देखाएर आईपीओ खोली आम मान्छेलाई लुटेको छैन। र, यसमा मलाई दु:ख होइन, गर्व छ।

मैले पढेको,अभ्यास गरेको मिडिया र परिवारबाट पाएको संस्कारले मलाई लुटेर,ठगेर होइन, मेहनत गरेर खान सिकाएको छ। म कसैको छोरी श्रीमतीभन्दा पहिले एक उद्यमशील स्वावलम्बी नारी हुँ। यो परिचय मैले जीवनभर मेहनत गरेर आफैँले आर्जन गरेकी हुँ र म बाँचुन्जेल कसैलाई पनि मेरो यो परिचयमा हिलो छ्याप्न दिन्नँ। 

मैले तिरिसकेको ऋणलाई लिएर मलाई ठग करार गर्ने गरी फोटो छापेर हेडलाइन बनाउने शिक्षा पत्रकारिताको कुन किताबको कुन पृष्ठमा छ? मैले पनि अन्तर्राष्ट्रिय विश्व विद्यालयबाट मिडिया नै अध्ययन गरेकी हुँ, १५ वर्षदेखि अभ्याससमेत गर्दै छु। तर नेपाली मिडियाको यस्तो दुर्दशापूर्ण अवस्था आउनुको दोषी स्वयं मिडिया सञ्चालकहरु नै हुन् भन्ने कुरामा मलाई अब शंका छैन। अरू मिडियाको तुलनामा मैले सञ्चालन गरेको मिडिया “टिभी फिल्मी” सबैभन्दा धेरै संकटमा गयो। तर मैले हार मानिनँ, बरु त्यसलाई “नारी टिभी”मा परिणत गरेँ, जुन झनै कठिन हुनेवाला छ। तर जतिसुकै कठिन भए पनि म गलत काम र ठगी गरेर एक पैसा पनि कमाउदिनँ।

अब कुरा आयो- न्यायको। मैले यत्रो संघर्ष गरी आर्जन गरेको प्रतिष्ठामा सजिलै फोटो टाँसेर ठग करार गर्न खोजेको म कसरी स्वीकार गरौँ? म मान्छे हुँ, महिला हुँ, म छोरी हुँ,आमा हुँ, दिदी हुँ, बहिनी हुँ, श्रीमती हुँ। त्यो भन्दा माथि म आफ्नै खुट्टामा उभिन सक्ने सक्षम सबल स्वाभिमानी नारी हुँ। मलाई देवी हुनु छैन, मान्छेसम्म हुन पाए पुग्छ, असल नारी हुन पाए पुग्छ। र, म कसैको दयामायामा नारी हुन चाहन्नँ। म लडेर आफ्नो नारी हुनुको अधिकार प्राप्त गर्न चाहन्छु।

एउटी महिला उद्यमीलाई सारा पुरुष मिडिया उद्यमी मिलेर ,तिरिसकेको ऋणबारे भ्रम छर्दै मेरो फोटो छापेर, मेरो हजुरबुवाको नामसमेत गलत लेखिएको कैफियत देखिएको कागजात छापेर, सबका सब मिलेर एउटै हेडलाइन राखेर चरित्र हत्या गरेको सहेर बस्नु मेरो आत्मसम्मानले कदापि दिँदैन।

त्यसैले म न्याय माग्न, प्रेस काउन्सिल र अदालत गएकी छु। मलाई यो पनि भनिएको छ- यति ठुला मिडियाकाविरुद्ध मुद्दा हाल्न आँटै गरिँदैन, मुद्दा परे पनि फैसला छिटो गर्ने आँटै गरिँदैन, फैसला भइहाले पनि उसका विरुद्ध फैसला आउन गाह्रो  हुन्छ, फैसला आए पनि क्षतिपूर्ति एकदमै कम पाइन्छ। थप मलाई यो पनि भनिएको छ कि मिडियालाई मुद्दा हाल्दा तिम्रो श्रीमान्‌को राजनीतिलाई नै ठूलो धक्का दिइनेछ, तिमीहरूलाई झन् गाह्रो  बनाइनेछ। उल्टै घाटा नै घाटा हुन्छ।

म भन्न चाहन्छु- सर्वस्व सकिए पनि म न्याय मागेरै छोड्छु। मलाई मेरो देशको न्यायालय र न्यायमूर्तिप्रति भगवान्‌जत्तिकै विश्वास छ। मैले आजीवन दु:ख गरेर कमाएको प्रतिष्ठामा मेरो प्रतिक्रियासमेत नसोधी ठाडै चरित्र हत्या गर्ने लाइसेन्स उनीहरूलाई कसले दियो?

एउटी नारीमाथि सबैले मिलेर देखाएको यो “पुरुषार्थलाई” मेरो चुनौती छ। न्याय मलाई मात्र चाहिएको छैन, जसले जसलाई जे पनि बोल्ने, लेख्ने तर सजाय पटक्कै नहुने कुराले आक्रान्त यो सिङ्गो समाजलाई नै न्याय चाहिएको छ। तिमीहरू आफ्नो पुरुषार्थ देखाउँदै गर्नु, म अदालततिर लागेँ ।

तपाईको प्रतिक्रिया