मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – ताइवानको पूर्वी तटमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन् ।ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ । ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्पको घटना भएको बताएका छन् ।बुधवारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निट्यूड अथवा सोभन्दा ठूला नौवटा परकम्प गएका अधिकारीहरूले बताएका छन् । भूकम्पले निम्त्याएका क्षतिका विवरण आउन बाँकी छ । आवासीय भवनहरू भत्केका र मानिसहरूलाई उनीहरूका घर एवं विद्यालयबाट उद्धार गर्दै गरिएका दृश्य देखिने फूटेज स्थानीय सञ्चारमाध्यमले देखाएका छन् ।भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ ।  जापानको दक्षिण-पश्चिमी क्षेत्रको ठूलो हिस्सामा सुनामीले ३ मिटर उचाइसम्म छाल निम्त्याउन सक्ने अनुमान गरिएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो । समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।फिलिपिन्सको भूकम्प मापन निकायले त्यहाँ सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ । चीनको दक्षिण-पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा २,४०० व्यक्तिको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया