Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कोभिड महामारीका बेला बन्द भएका १४ वटा परम्परागत व्यापार नाका खोल्न चीन तयार भएको उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । थप नाका खोल्ने सहमतिलाई उनले आफ्नो चीन भ्रमणको मुख्य उपलब्धि भनेका छन् ।

चैत ११ गते चीनका लागि प्रस्थान गरेका मन्त्री श्रेष्ठ सोमबार फर्किएका हुन् । स्वदेश फिर्तीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भ्रमण उपलब्धिबारे जानकारी दिएका थिए । रसुवागढी, तातोपानी, यारी तथा नेचुङ नाकाहरू यसअगावै सञ्चालनमा आइसकेका र अब १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको उनको भनाइ थियो ।

यसबाट चीन सीमानजिक बसोवास गर्ने नेपालीको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको पनि उनले बताए । नेपाल-चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयाममा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको जानकारी पनि उनले दिए । उनका अनुसार, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को कार्यान्वयन योजनालाई अन्तिम रूप दिई कार्यान्वयन गर्नेबारे पनि छलफल भएको छ ।

चीन भ्रमण गर्न चाहने नेपालीलाई भिसा निःशुल्क उपलब्ध गराउन अनुरोध गरेको र त्यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए। चिनियाँ पर्यटकलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ । मन्त्री श्रेष्ठका अनुसार, चीनले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया