बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – देशमा भाडाको घरमा बस्ने परिवारको संख्या बढिरहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०७८ को विश्लेषणात्मक प्रतिवेदनले १२ दशमलव ८ प्रतिशत परिवार भाडाको घरमा बस्ने गरेको देखाएको हो ।

२०६८ को जनगणनाले पनि १२ दशमलव ८ प्रतिशत परिवार नै भाडाको घरमा बस्ने गरेको देखाएको थियो । यद्यपि दुई दशकअघि २०५८ सालमा ८ दशमलव ९ प्रतिशत मात्रै भाडाका घरमा बस्थे । तीन दशकअघि २०४८ सालमा भाडाका घरमा बस्ने परिवार ४ दशमलव ७ प्रतिशत मात्रै थिए ।

बितेका तीन दशकमा कामको खोजीमा गाउँबाट शहरमा छिर्ने क्रम बढेसँगै भाडामा बस्ने परिवारको संख्यामा वृद्धि भएको हो । तीन दशकमा भाडाको घरमा बस्नेको अनुपात करीब तीन गुणा भएको छ । तथ्यांकले नेपालका ८६ प्रतिशत परिवारको आफ्नै स्वामित्वमा घर रहेको देखाएको छ । तीन दशकअघि २०४८ सालको जनगणनाले ९२ दशमलव ६ प्रतिशत परिवारको आफ्नै स्वामित्वको घर रहेको देखाएको थियो ।

जग्गाको मूल्यमा अस्वाभाविक वृद्धि तथा निर्माण लागत बढेका कारण न्यून आय भएका परिवारका लागि आफ्नै स्वामित्वको घर जोड्न थप कठिन हुँदै गएको छ ।

तपाईको प्रतिक्रिया