सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – उपनिर्वाचनबाट प्रमुख राजनीतिक दलहरूको शक्ति परीक्षण हुने भएको छ । विगतका दुई आवधिक निर्वाचन र उपनिर्वाचनहरूमा तालमेल गर्दै चुनावी प्रतिस्पर्धा गर्दै आएका दलहरूको आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा शक्ति परीक्षण हुने भएको हो ।

अब प्रतिस्पर्धामा संसदीय अभ्यासमा पछिल्लो निर्वाचनबाट उदाएका नयाँ दल पनि सहभागी हुँदै छन्  । हालसम्मको राजनीतिक परिदृश्य अनुसार उपनिर्वाचनमा दलहरूबीच एकल रूपमा प्रतिस्पर्धा हुने भएको छ तर चुनाव हुने दिनसम्ममा पनि कुनै दलले अर्को दललाई समर्थन गर्ने सम्भावना पनि छ ।

अहिलेसम्म इलाम २ को उपनिर्वाचनमा लागि नेकपा एमालेले सुहाङ नेम्वाङलाई, रास्वपाले मिलन लिम्बुलाई, राप्रपाले लक्ष्मी गुरुङलाई र एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । त्यस्तै कोशी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएका छन् । अब नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार चयन गर्न बाँकि रहेको छ ।

०७९ मा कस्तो थियो मत संरचना ?
गत २०७९ को आम निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए । उनी केवल ११४ मत अन्तरले विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । कांग्रेसका उम्मेदवारलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।

यस क्षेत्रमा रास्वपाका प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएका थिए । मंगोल नेशनल अर्गनाइजेसनका मणि बहादुर लिम्बुले १३६३, राष्ट्रिय जनमुक्तिका खड्ग प्रसाद पालुवाले १२७२, जसपाका यम प्रसाद लिम्बुले ७२४, राप्रपाका गणेश प्रसाद दुलालले ५१० मत प्राप्त गरेका थिए ।

समानुपातिकतर्फ एमालेले २६ हजार ५६२, कांग्रेसले २२ हजार ३३३, माओवादीले ५ हजार १५३ र रास्वपाले ४ हजार ६८६ मत ल्याएका थिए । राप्रपाले ११९१ मत, जसपाले ९०६ मत, एकीकृत समाजवादीले ५८६ मत प्राप्त गरेका थिए ।

तपाईको प्रतिक्रिया