शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – पाल्पामा पधेंरो हिँडेकी युवती पदमा सुनारको बीभत्स हत्या आरोपमा पक्राउ परेका सागर भन्ने देवलाल सार्कीलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । चैत १३ गते पाल्पाको रिब्दीकोट गाउँपालिका-१, ख्याहाकी १९ युवती पदमा सुनारको बीभत्स हत्या आरोपमा सोही गाउँकै १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

गाउँकै लप्सीखोलामा कपडा धुन र नुहाउन एक्लै गएकी पदमासँग खोलामै विवाद भएको र फर्की आउने क्रममा पछाडिबाट हँसियाले प्रहार गरेको देवलालले प्रहरी समक्ष स्वीकार गरेको डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार सागरले हत्या गर्दा प्रयोग गरेको धारिलो घरेलु हतियार हँसिया, हत्याका बखत लगाएको कपडा, चम्पल, खादालगायत सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी अर्गली, हार्थोक, सर्देवाबाट पुगेको टोलीले घटनाको थप अनुसन्धान गरेको एसपी नरेन्द्र चन्दले जानकारी गराए ।

घटनास्थलमा रहेको सबुद प्रमाण र शव जाँच मुचुल्काका आधारमा चैत १४ गते गौतम बुद्ध विमानस्थल सुरक्षा गार्ड केनाइन शाखा भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाई घटनास्थलको जाँच गरिएको थियो । त्यसपछि मृतक पदमाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा शंकास्पद दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गर्दा सागर भन्ने देवलालले हत्या स्वीकार गरेको डीएसपी श्रेष्ठले बताएका छन् ।

धोइसकेका लुगा लिएर लप्सी खोलाबाट फर्किने क्रममा दुई सय मिटर पश्चिम खुलखुले गैरामा पदमालाई पछाडिबाट आफ्नो साथमा रहेको हँसियाले हानेको देवलालले प्रहरीमा स्वीकार गरेका हुन् । मृतकको बायाँ पाखुरा, टाउको, पछाडि कञ्चटमा चोट लागेको पोस्टमार्टम रिपोर्टमा भेटिएको प्रहरीले जनाएको छ । डिएसपी श्रेष्ठका अनुसार सागर रिसाहा स्वभावका छन् । उनीहरूबीच सामान्य विवाद भएको थियो । ‘उनीहरूबीच के विषयमा विवाद भएको हो भन्ने अझै प्रष्ट हुन बाँकी छ । तर दुई जनाको भेट हुँदा विवाद हुन पुग्यो । गालीगलौजको अवस्था सिर्जना भएपछि हत्या भएको देखिन्छ,’ उनले भने ।

आवेगमा आएर सागरले पद्मामाथि हँसियाले प्रहार गरेको उनले बताए । हतियार प्रहारपछि उनले पद्मालाई २० मिटर तल घिसारेर खरबारीमा पुर्‍याएका थिए । त्यहाँ पनि उनको टाउकोमा दुई÷तीन पटक प्रहार गरेका थिए । मृतक पदमाको हिँड्ने बाटोदेखि २० मिटर तल शव भेटिएको थियो । मृतकको साथबाट मोबाइल समेत निज देवलालले लिएर हिँडेका थिए । सामान्य विवादमा देवलाले पदमाको हत्या गरेको स्वीकार गरेका छन् । मंगलबार बिहान ९ बजे पदमा लप्सीखोलामा कपडा धुन र नुहाउन भनेर हिँडेकी थिइन् । लप्सीखोला उनको घरबाट दुई किलोमिटर टाढा पर्छ ।

नुहाउन र कपडा धुन भनेर एक्लै हिँडेकी उनी दिउँसो साढे ३ बजेसम्म पनि नफर्किएपछि घर परिवार उनको खोजीमा निस्किए । खोज्दै जाँदा पदमाले लिएर गएको कपडा तथा अन्य सामान लप्सीखोलाबाट कराम्दी जाने गोरेटोमा लथालिङ्ग अवस्थामा फेला पर्‍यो । सामान फेला परेको आसपास परिवारले खोजी गर्दा अन्दाजी २० मिटर तल खरबारीमा पदमा रगताम्य अवस्थामा मृत फेला परिन् । उनको टाउको, घाँटी, हातमा धारिलो हतियारबाट प्रहार गरिएका चोटहरू थिए । त्यसपछि परिवारले साँझ साढे ५ बजेतिर प्रहरीलाई खबर गरेको थियो । उक्त खबरपछि प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको थियो ।

तपाईको प्रतिक्रिया