शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – वैशाख १५ मा हुने उपनिर्वाचनमा सत्ता समीकरण नै आमने सामने हुने भएका छन् । नेकपा एमालेले सबैभन्दा पहिला उपनिर्वाचनको उम्मेदवार छनौट गरेपछि अब अन्य दल पनि उम्मेदवार छनौटमा जुटेका छन् ।

एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा-१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ । त्यस्तै एकीकृत समाजवादीले इलामा-२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको बताइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार मिलन लिम्बुलाई उम्मेदवार बनाउने तयारी गरेको छ र यसको औपचारिक घोषणा चैत्र १७ गते गर्दै छ ।माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेदवार उठाउने निर्णय गरेको हो ।

भर्खरै बनेको सत्ता समीकरण उपनिर्वाचनमै एक ठाउँमा आउन नसक्ने अवस्था बनेपछि यो समीकरणमा अझै आपसी विश्वासको संकट रहेको विश्लेषण हुन थालेको छ । केन्द्रदेखि प्रदेशसम्म सत्ता भागबन्डा गर्ने तर चुनावी मैदानमा एक्ला एक्लै जाँदा राजनीतिक रुपमा यसले गठबन्धन परिपक्व नभएको अर्थ लागेको विश्लेषण गरिएको छ ।

सत्ता समीकरणमा एमालेले सुरुमै उम्मेदवार छनौट गरेर साझा उम्मेदवार बनाउने प्रयास नै नगरेको माओवादी केन्द्रका एक नेताले बताए । एमालेको समीकरणप्रतिको व्यवहार फरक रहेको महसुस उपनिर्वाचनको उम्मेदवार छनौटले देखाएको ती नेताले बताए । उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत्र २४ गते रहेको छ ।

तपाईको प्रतिक्रिया