शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – जापानमा बालबालिकाहरुको भन्दा वृद्धहरुका लागि डाइपर धेरै बिक्रि हुन थालेको उत्पादाक कम्पनीहरुले बताएका छन् । एउटा डाइपर उत्पादन कम्पनीले बच्चाका लागि अब डाइपर उत्पादन नगर्ने बताएको हो ।

बरु, वयष्कहरुका लागि डाइपर उत्पादन गर्ने ओजी होल्डिङ्स कम्पनीले जनाएको छ । जन्मदर हालसम्मकै कम हुँदा जापानी जनसंख्या तीव्र गतिमा बुढो हुँदै गएको छ । एक दशकअघि नै जापानमा शिशुहरुको डाइपरभन्दा वृद्धहरुको डाइपर धेरै बिक्न थालेको थियो । सन् २०२३ मा ७ लाख ५८ हजार ६ सय ३१ बच्चा जन्मेका थिए । त्यो अघिल्लो वर्षको भन्दा ५ दशमलव १ प्रतिशत कम हो ।

१९औँ शताब्दीयता यो जापानमा एक वर्षमा भएको सबैभन्दा कम जन्म हो । १९७० को दशकमा जापानमा वार्षिक २० लाखभन्दा बढी बच्चा जन्मिन्थे । ओजी कम्पनीले शिशुका लागि वार्षिक ४० करोड डाइपर उत्पादन गर्ने गर्छ । २००१ मा यो संख्या ७० करोड थियो । २०११ मै जापानको सबैभन्दा ठूलो डाइपर उत्पादक युनिचार्मले शिशुको भन्दा वृद्धहरुको डाइपर ज्यादा बिक्न थालेको बताएको थियो ।

वृद्धहरुको डाइपर बजार बढ्दैछ । हाल वार्षिक २ अर्ब डलरभन्दा माथिको बजार रहेको आकलन गरिन्छ । हाल जापानको जनसंख्याको ३० प्रतिशत हिस्सा ६५ वा सोभन्दा बढी उमेरको छ । गत वर्ष पहिलो पटक ८० वर्षभन्दा माथिकाहरुको हिस्सा जनसंख्याको १० प्रतिशत नाघेको छ ।ओजी होल्डिङ्सले मलेसिया र इन्डोनेसियामा भने बच्चाका लागि डाइपर उत्पादन जारी राख्ने बताएको छ । विश्वको ठूलोमध्यको एउटा अर्थतन्त्र जापानमा न्यून जन्मदर संकट बनिसकेको छ । यसलाई समाधान गर्ने सरकारी प्रयास असफल हुँदै आएको छ । बालबालिकासम्बन्धी कार्यक्रमको बजेट बढाउँदा र युवा दम्पतीहरुलाई लक्षित गरी अनुदान सुविधा दिँदा पनि जन्मदर बढेको छैन ।

विज्ञहरुका अनुसार यसको कारण जटिल छ । न्यून विवाह दरदेखि श्रमशक्तिमा महिलाको सहभागिता र बच्चा हुर्काउँदाको महँगो लागतसम्मका कारणले जन्मदर कम भएको उनीहरुको भनाइ छ । ‘हामी एक समाजका रुपमा सञ्चालित हुन सक्छौँ कि सक्दैनौँ भन्न सँघारमा छौँ,’ प्रधानमन्त्री फुमियो किसिदाले गतवर्ष भनेका थिए ।

तर, यस्तो समस्या भोगिरहेको मुलुक जापान एक्लो होइन । प्रजनन् दर हङकङ, सिंगापुर, ताइवान र दक्षिण कोरियामा घटिरहेको छ । २०२३ मा लगातार दोस्रो पटक चीनको समेत जनसंख्या घटेको छ । उसले पनि जापानले जस्तै जन्मदर बढाउन अनेक उपाय लगाएको छ ।

तपाईको प्रतिक्रिया