सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । आइतबार राति होली खेली खाजा खान ढोलाहिटीको एक खाजाघरमा गएका यु्वाहरुको दुई समूहबीच विवादका क्रममा छुरा प्रहार हुँदा पूजन राई र रेबस राईको हत्या भएको थियो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार घटनाका मुख्य आरोपी विजय राई यसअघि आगुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेर छुटेका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अन्य ८ जनालाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घटनामा संलग्न अर्का एकजना फरार छन्।

उनीहरूबीच तिहारको समयमा विवाद भएको र सोही विषयलाई लिएर घटना भएको प्रहरी अनुसन्धानले देखाएको छ।

तपाईको प्रतिक्रिया