सोमबार, बैशाख १०, २०८१
Monday, April 22, 2024

काठमाडौं – कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निधन भएको छ । शाहीको नेपाल-भारत मैत्री अस्पताल चाबहिलमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।

सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरे पनि सफल हुन नसकेको उपचारमा सरोकार राख्दै आएका पत्रकार राजु सुवेदीले जानकारी दिए । सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजीमा उपचार गर्नुपर्दा थप ८ लाख खर्च भएको उनको भनाई छ ।

शाहीको किड्नीमा समस्या आएर चैत ६ गते राती ११ बजे बुटवल बाट काठमाडौँ ल्याइएको थियो । उनलाई किड्नीको उपचारको लागी विगत १६ दिन अगाडि बुटवलको आम्दा अस्पतालमा उपचार भैरहेको थियो । उक्त अस्पतालमा उपचार हुन नसकेपछि उनलाई उक्त अस्पतालले काठमाडौँको कान्ति बाल अस्पतालमा रिफर गरेको थियो ।

काठमाडौँ ल्याउँदा उनलाई बाटोमा श्वास प्रश्वासमा समस्या आएकोले उनको अवस्था नाजुक थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्न पर्ने थियो तर कान्ति बाल अस्पतालले भेन्टिलेटर नभएकोले उपचार गर्न मानेको थिएन। अस्पतालमा भेन्टिलेटर नभएकोले अन्त लगेर उपचार गर्न भनेको थियो । त्यसपछि उनको नेपाल भारत मैत्री अस्पतालमा उपचार भैरहेको थियो ।

कान्ति बाल अस्पतालमा भेन्टिलेटर हुँदा पनि अन्त पठाएको आफन्तको आरोप थियो । त्यसको केही दिनसम्म पनि अस्पतालको सामाजिक सञ्जालमा आलोचना भैरहेको थियो ।

  • सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन् :-

असाध्यै दुःखद् खबर !
कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निजी अस्पतालमा उपचारकै क्रममा आइतबार निधन भएको छ । सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरेपनि सफल हुन सकेन । तर, म अहिले पनि यही सोचिरहेको छु । कान्ति आइपुग्दा भेन्टिलेटर पाएको भए सायद उनी बाच्न सक्थिन की ? यस्तो मैले मात्रै होइन, उनको परिवार र त्यहाँ देख्ने धेरैको मनमा पनि खेलेको छ । किनकि त्यतिबेला सुई लगाउँदा रोक्ने र बाटोमा लगाएर ल्याएको अक्सिजन माक्स आफै तान्ने अवस्थामा मैले देखेकी उनी । कान्तिमा १ घण्टा अक्सिजनबिना होल्ड भएर फर्काइदा निस्पट बनेकी थिइन । स्वाभाविक रूपमा त्यसको प्रत्यक्षदर्शीका हिसाबले मेरो मनमा आक्रोश अझै छ । त्यसमाथि ठिक यतिबेला एउटा निम्न आर्थिक अवस्थाको परिवारमा ७ वर्षकी छोरी गुमाउनुको पीडा मात्रै छैन । सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजीमा उपचार गर्नुपर्दा थप ८ लाख ऋण समेत बोक्नुपरेको छ । जुन पहुँचवाला हुनेखानेका लागि केही नहोला । तर, बागलुङको विकट निसिखोलाका न्यून आर्थिक अवस्थाको परिवारका लागि पीडामाथिको यो ऋण अर्को भारी हो । नानीलाई निको बनाएर फर्काउने मेरो चाहाना पूरा हुन सकेन । तर उनको आत्मशान्तिको लागि पनि मैले अब उनीजस्तै समयमा उपचार नपाएर मर्नुपर्ने अवस्थालाई रोक्न र उनको जस्तै पहुँच नभएका आधारमा ऋण काँडेर महँगोमा उपचार गर्न नसके अस्पतालबाट फर्काएर तुलसीको मठ लैजानुपर्ने अवस्थाको अन्त्य गर्ने लडाई थाल्ने बाचा ठिक आजकै दिनमा गरेको छु । म धनी व्यापारी होइन, नेता होइन, मन्त्री होइन, माथिल्लो ओहोदाको कर्मचारी पनि होइन । त्यसकारण मैले अस्पताल चाहेर आवश्यकता भएजतिका खोल्न नसकुँला । स्रोत साधन पनि मैले मात्रै चाहेर तुरुन्तै थपाउन नसकुँला । तर, एउटा सामान्य नागरिककै रूपमा पनि सरकारी अस्पताल र यसमा भएकै स्रोत साधनको वितरणमा हुने विभेदकाविरूद्ध जेहाद छेड्ने निर्णय गरेको छु । सेन्जलको आत्माले शान्ति पाओस् ! शोकाकुल परिवारप्रति हार्दिक समवेदना !!

तपाईको प्रतिक्रिया